नियमित महाधिवेशनको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी महामन्त्रीद्वयको पनि हो : एनपी साउद
काठमाडौँ । नेपाली कांग्रेसका नेता नारायणप्रकाश (एनपी) साउदले पार्टीको नियमित महाधिवेशन वैशाखमा सम्पन्न गर्ने केन्द्रीय कार्य सम्पादन समितिको निर्णय कार्यान्वयन गर्ने दायित्व पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पनि रहेको बताएका छन्।
महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशनमार्फत अघि बढ्ने गतिविधि तीव्र पारेपछि संस्थापन पक्षका नेता साउदले यस्तो टिप्पणी गरेका हुन्। मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै उनले केन्द्रीय कार्य सम्पादन समिति बैठकले वैशाखमा पार्टीको १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको उल्लेख गरे।
उनले सो निर्णयलाई कार्यान्वयनमा लैजाने प्रमुख जिम्मेवारी महामन्त्रीद्वयकै पनि भएकाले उनीहरू त्यसबाट पछि हट्न नमिल्ने स्पष्ट पारे। साथै, उनले विशेष महाधिवेशनको कुनै औचित्य नरहेको कुरा पुनः दोहोर्याए।
साउदले भने, “विशेष अधिवेशनको औचित्य छैन भनेर केन्द्रीय कार्य सम्पादन समितिले निर्णय गरिसकेको छ। त्यससँगै १५औँ महाधिवेशनको कार्यतालिकामा आवश्यक संशोधन गरेर वैशाखमा गर्ने निर्णय पनि भइसकेको छ। त्यो केन्द्रीय कार्य सम्पादन समितिको निर्णय हो। महामन्त्रीज्यूहरू पनि जिम्मेवारीमा हुनुहुन्छ, उहाँहरूले आफ्नो दायित्वअनुसार उक्त निर्णय कार्यान्वयन गर्नुहुनेछ भन्ने विश्वास छ।”
निर्वाचनको तयारीतर्फ पार्टी केन्द्रित हुनुपर्ने अवस्था रहेकाले विशेष महाधिवेशनतर्फ जानुको कुनै अर्थ नरहेको उनको भनाइ थियो।
