ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा
काठमाडौं । भदौ २३–२४ गतेका घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री तथा नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको विदेश भ्रमण रोक र स्थान हद फुकुवा गरेको छ।
आयोगले ओलीको बयान लिइसकेपछि उनीमाथि लगाइएका सबै बन्देज हटाउने निर्णय गरेको हो। आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आज उक्त निर्णय सार्वजनिक गर्दै फुकुवाबारे जानकारी दिएका छन्।
आयोगका प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी विज्ञप्तिमा भदौ २३–२४ का घटनाको छानबिनका क्रममा तत्कालीन प्रधानमन्त्री ओलीलाई विदेश भ्रमणमा रोक लगाउने र अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान नपाउने गरी असोज १२ गते निर्णय गरिएको उल्लेख छ। तर आवश्यक सोधपुछ तथा बुझ्ने कार्य पूरा भइसकेकाले अब उक्त निर्णयको औचित्य समाप्त भएको भन्दै बन्देज फुकुवा गरिएको विज्ञप्तिमा जनाइएको छ।

