कांग्रेस विभाजन रोक्न विशेष महाधिवेशनलाई ‘संकल्प सम्मेलन’मा रूपान्तरण गर्ने प्रयास

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा जानुपर्ने विश्वप्रकाश शर्माको प्रस्ताव

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनलाई लिएर उत्पन्न विवाद समाधान गर्न ‘संकल्प सम्मेलन’ गर्ने विकल्पमा छलफल अगाडि बढेको छ। पुस १८ मा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले बहुमतका आधारमा १५औँ महाधिवेशन २०८३ वैशाख २८–३१ मा सार्ने निर्णय गरेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसमै विशेष महाधिवेशन गर्ने तयारी थालेका थिए।

यसले पार्टीभित्र विग्रहको सम्भावना बढेपछि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशनलाई ‘संकल्प सम्मेलन’मा रूपान्तरण गर्ने प्रस्तावसहित महामन्त्रीहरूसँग संवाद सुरु गरेका हुन्। खड्का, थापा, शर्मा र केन्द्रीय सदस्य रमेश लेखकबीच निरन्तर छलफल भइरहेको कांग्रेस नेताहरू बताउँछन्।

स्रोतका अनुसार पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेको विशेष महाधिवेशनको ‘सेफ ल्यान्डिङ’का लागि पुसको अन्तिम साता केन्द्रीय कार्यसमिति बैठकमार्फत ‘संकल्प सम्मेलन’ आह्वान गर्नुपर्ने प्रस्ताव महामन्त्री शर्माले अघि सारेका छन्। साथै, फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर चुनावमा जानुपर्ने अर्को प्रस्ताव पनि शर्माले राखेका छन्।

संस्थापन पक्षीय केन्द्रीय सदस्य योगेन्द्र चौधरीका अनुसार चार नेताबीच यी विषयकै वरिपरि गहिरो छलफल भइरहेको छ। संकल्प सम्मेलनमार्फत वर्तमान विषम परिस्थितिमा जनतामाझ जाने राजनीतिक एजेन्डा तय गर्न सहमति बन्न सक्ने उनको भनाइ छ।

चौधरीले विशेष महाधिवेशन नेतृत्व चयनतर्फ नजाने र पार्टी सुधारका एजेन्डामा केन्द्रित हुने बताए। विशेष महाधिवेशनलाई संकल्प सम्मेलनमा रूपान्तरण गरे सिंगो कांग्रेस एकताबद्ध रूपमा अघि बढ्ने उनको बुझाइ छ। यसका लागि सभापति शेरबहादुर देउवालाई समेत सहभागी हुने वातावरण बनाउनुपर्ने उनले जोड दिए।

महामन्त्री थापानिकट केन्द्रीय सदस्य मधु आचार्यले विशेष महाधिवेशनलाई एकता र रूपान्तरणको मंच बनाउने कुरा संस्थापन पक्षको प्रस्तुतिमा भर पर्ने बताए। उनका अनुसार संस्थापन पक्ष पार्टी एकताबद्ध बनाएर जाने निर्णयमा आयो भने विशेष महाधिवेशन पनि एकता र रूपान्तरणको महाधिवेशन बन्न सक्छ।

आचार्यले विशेष महाधिवेशनका निर्णयलाई साझा संकल्पका रूपमा स्वीकार्ने वातावरण बनाउने प्रयास भइरहेको बताए। पार्टी रूपान्तरणका एजेन्डामा सकारात्मक सहमति भए एकतासहित निर्वाचनमा जाने र निर्धारित मितिमा हुने नियमित महाधिवेशनलाई पनि सबै पक्षले स्वीकार्ने उनले बताए।

विशेष महाधिवेशनका विपक्षमा उभिँदै आएका सहमहामन्त्री महेन्द्र यादवले भने विशेष महाधिवेशनलाई भेलामा रूपान्तरण गर्ने तयारी भइरहेको र पार्टी विभाजन नहुने विश्वास व्यक्त गरे। पार्टीभित्रको विवाद समाधानका लागि नेतृत्व तहबाट पहल भइरहेको र महामन्त्रीहरूले पार्टी नफुटाउने स्पष्ट गरिसकेको उनको भनाइ छ।

यसअघि पुस १८ को कार्यसम्पादन समिति बैठकमा महामन्त्री शर्माले कांग्रेसको नेतृत्व गर्ने दृढता व्यक्त गर्दै पार्टी नछोड्ने र नफुटाउने बताएका थिए। महामन्त्री थापाले पनि विधानको धारा १७(२) अनुसार विशेष महाधिवेशन वैधानिक भएको र यसले पार्टी विभाजन नहुने दाबी गर्दै आएका छन्।

हाल महामन्त्री थापा विशेष महाधिवेशनका दस्तावेज तयारीमा जुटेका छन्। अनामनगरमा सम्पर्क कार्यालय खोलेर पक्षधरहरूले आन्तरिक तयारी गरिरहेका छन् भने भृकुटीमण्डपमा मञ्च व्यवस्थापनको कामसमेत सुरु भएको छ।

यता, सभापति शेरबहादुर देउवाको निवास महराजगञ्जमा बसेको संस्थापन पक्षका शीर्ष नेताहरूको बैठकले नियमित महाधिवेशनको मिति तय भइसकेकाले विशेष महाधिवेशनको औचित्य समाप्त भएको निष्कर्ष निकालेको छ। सहमहामन्त्री डिना उपाध्यक्षका अनुसार सोमबार बस्ने केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनबारे नीतिगत निर्णय लिने छ।