रेसुङ्गा विमानस्थलबाट सातामा चार दिन नियमित उडान

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा विमानस्थलबाट हप्तामा चार दिन नियमित हवाई उडान सञ्चालन भइरहेको छ । नेपाल एअरलाइन्सको जहाजमार्फत आइतबार, मंगलबार, बिहीबार र शनिबार उडान हुँदै आएको छ ।

रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाका अनुसार पछिल्लो समय अधिकांश उडान तोकिएको तालिकाअनुसार नै सञ्चालन भइरहेका छन् । लामो समयदेखि उडान अनियमितताका कारण समस्या झेल्दै आएका जिल्लावासीका लागि हालको नियमित सेवाले हवाई यात्रामा उल्लेखनीय सहजता ल्याएको छ ।

गत शनिबार जहाज निर्धारित समयभन्दा केही ढिलो गरी बिहान ११ बजेर २९ मिनेटमा रेसुङ्गा विमानस्थलमा अवतरण गरेको थियो । नियमित तालिकाअनुसार काठमाडौंबाट बिहान ६:३० बजे र गुल्मीबाट काठमाडौंका लागि बिहान ७:४५ बजे उडान हुने व्यवस्था छ ।

रेसुङ्गा नगरपालिका–१० का पूर्व वडाध्यक्ष पदमप्रसाद अर्यालका अनुसार नियमित हवाई सेवाले जिल्लाको व्यापार, पर्यटन र समग्र सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

काठमाडौंसहित अन्य स्थानसँग गुल्मीलाई हवाई मार्गबाट जोड्ने यी उडानले सर्वसाधारण, बिरामी, सरकारी तथा निजी क्षेत्रका कर्मचारी र व्यवसायीहरूलाई ठूलो राहत पुगेको छ । विशेषगरी आकस्मिक उपचारका लागि राजधानी जानुपर्ने बिरामीका लागि हवाई सेवा जीवनरक्षक माध्यम बनेको स्थानीयको भनाइ छ ।

हाल काठमाडौं–रेसुङ्गा हवाई भाडा ७ हजार ५ सय रुपैयाँ र रेसुङ्गा–काठमाडौं ७ हजार ३ सय रुपैयाँ निर्धारण गरिएको छ । दिउँसो हावा चल्ने सम्भावना बढी हुने भएकाले सुरक्षालाई ध्यानमा राख्दै उडानहरू बिहानै सञ्चालन गरिँदै आएको छ ।