नेप्से दोहोरो अंकले घट्यो, कारोबार ५ अर्ब नाघ्यो
काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से सूचक १०.२९ अंकले घटेर २६१०.६३ अंकमा बन्द भएको हो।
वित्तीय प्रणालीमा ब्याजदर न्यून रहे पनि समग्र अर्थतन्त्रमा देखिएका समस्याका कारण सेयर लगानीकर्ताको मनोबल कमजोर हुँदा बजारमा दबाब परेको देखिन्छ। माग बढ्न नसक्नु र आर्थिक गतिविधि सुस्त रहनुले सेयर बजारले अपेक्षित सकारात्मक गति लिन सकेको छैन।
गत साता केही दिन नेप्से बढे पनि त्यो सुधार दीर्घकालीन बन्न सकेन। वैकल्पिक राजनीतिक शक्तिहरू एक भएको र आगामी फागुन २१ मा निर्वाचन हुने संकेतका कारण लगानीकर्ताको मनोबल केही समय बढे पनि बजार फेरि नकारात्मक दिशातर्फ फर्किएको हो।
आइतबार कारोबार सुरु भएदेखि नै नेप्से नकारात्मक रहँदै बन्द भएको थियो। यद्यपि कुल कारोबार रकम हेर्दा सेयरको माग कायमै रहेको र आगामी दिनमा कारोबार अझ बढ्न सक्ने अनुमान गर्न सकिन्छ।
यस दिन ३२३ कम्पनीको सेयर कारोबार भएकोमा १७१ कम्पनीको सेयर मूल्य घट्यो भने ७९ कम्पनीको सेयर मूल्य बढेको छ। नौ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएन। विन नेपाल लघुवित्त र श्रीनगर एग्रिटेक कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको नेप्सेले जनाएको छ।
समूहगत सूचकतर्फ अधिकांश समूह नकारात्मक देखिएका छन्। बैंकिङ १.९३, विकास बैंक ४४.१६, वित्त २.९९, जलविद्युत् १६.५७, लगानी ०.३३, जीवन बीमा ११३.९४, माइक्रोफाइनान्स १५.८१, सामूहिक लगानी कोष ०.०६, निर्जीवन बीमा ९४.४४ र अन्य समूह ४०.१० अंकले घटेका छन्।
तर उत्पादनमूलक समूह ८९.१०, होटल समूह ४३.३७ र व्यापार समूह १२.९१ अंकले बढेका छन्।
आइतबार ७९ हजार कारोबारबाट ३२३ कम्पनीका १ करोड २ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ५ अर्ब १ करोड रुपैयाँ पुगेको छ। यो रकम गत साता बिहीबारको ४ अर्ब ६० करोड रुपैयाँको कारोबारभन्दा बढी हो।
