प्रधानमन्त्रीसँग रघुवीर महासेठको मागः दलमा आबद्ध मन्त्रीहरू तत्काल बर्खास्त गरिनुपर्छ

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलसँग आबद्ध भएर अन्तरिम सरकारमा सहभागी भएका मन्त्रीहरूलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने माग गरेका छन्।

आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै महासेठले चुनावी सरकारमा रहेका केही मन्त्रीहरू नैतिकताविपरीत राजनीतिक गतिविधिमा सक्रिय रहेको आरोप लगाए। उनका अनुसार त्यस्ता मन्त्रीहरूले स्वयं राजीनामा दिनुपर्छ, राजीनामा नआए प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्छ।

पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बसिरहनु अनुचित भएको उल्लेख गर्दै महासेठले चुनाव लड्ने चाहना भएकाहरूले सरकारबाट बाहिरिएर खुला रूपमा चुनावी मैदानमा आउनुपर्ने बताए।

महासेठले सरकारले आगामी फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गराउने वातावरण बनाउन नसकेको दाबीसमेत गरे। उल्टै सरकार आफैँ निर्वाचन बिथोल्ने प्रक्रियातर्फ अघि बढिरहेको उनको आरोप छ।

जेन–जी आन्दोलनका क्रममा लुटिएका हजारौँ हतियार अझै फिर्ता नभएको र फरार कैदीहरू नियन्त्रणमा नआएको अवस्थालाई उल्लेख गर्दै उनले यस्तो परिस्थितिमा भयरहित र निष्पक्ष निर्वाचन सम्भव हुनेमा गम्भीर शंका रहेको बताए।