प्रचण्ड र देउवालाई जाँचबुझ आयोगको पत्र, लिखित जवाफ पठाए पनि हुने
काठमाडौं । जेनजी आन्दोलनसँग सम्बन्धित घटनाबारे गठन गरिएको जाँचबुझ आयोगको पत्र बुझ्न अस्वीकार गरेका प्रमुख दलका दुई शीर्ष नेता—नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’—ले अन्ततः पत्र बुझेका छन्। सार्वजनिक सूचना प्रकाशित गरिने चेतावनीपछि दुवैले म्याद बुझेको खुलेको हो।
जेनजी आन्दोलनका क्रममा भएको दमन र त्यसपछिको विध्वंसबारे छानबिन गर्न गठित आयोगले दुवै नेतालाई आफ्नो धारणा राख्न आग्रह गर्दै पत्र पठाएको थियो। व्यक्तिगत सुरक्षा अधिकृत (पीएसओ) मार्फत पत्र बुझाउने प्रयास भए पनि सुरुवातमा दुवैले पत्र लिन अस्वीकार गरेका थिए।
कांग्रेस सभापति देउवाले २४ भदौको आगजनीबाट आफू स्वयं पीडित भएको, घर जलेर अन्यत्र बस्नुपरेको तथा आन्दोलनका बेला राज्यको कुनै जिम्मेवारीमा नरहेको अवस्थामा किन बयान दिनुपर्ने भन्ने प्रश्न उठाएका थिए।
त्यसैगरी प्रचण्डले पनि जेनजी आन्दोलनका बेला आफू प्रमुख विपक्षी दलको नेताको भूमिकामा रहेको, सत्तापक्षलाई खबरदारी गरिरहेको अवस्थामा उल्टै आफ्नै घरमा आगजनी भएको भन्दै कुन आधारमा बयान मागिएको हो भन्ने जिज्ञासा राख्दै पत्र बुझ्न मानेका थिएनन्।
तर आयोगका तर्फबाट खटिएका कर्मचारी तथा सुरक्षा अधिकारीहरूले बयान नभई केवल सोधपुछ र धारणा बुझ्नका लागि पत्र पठाइएको स्पष्ट पारेका थिए। साथै पत्र बुझ्न अस्वीकार गरेमा सार्वजनिक सञ्चारमाध्यममार्फत सूचना प्रकाशन गरिने र त्यसपछि पनि सहयोग नगरेको विवरण प्रतिवेदनमा समावेश गरिने चेतावनी दिएका थिए।
त्यसपछि केही घण्टाको अन्तरालमा दुवै नेताले पत्र बुझेको प्रहरीसम्बद्ध स्रोतले जनाएको छ। तर आयोगमा उपस्थित हुने वा लिखित जवाफ पठाउने भन्ने विषयमा भने अहिलेसम्म कुनै टुंगो लागिनसकेको बताइएको छ।
