रास्वपाको समानुपातिक बन्दसूचीमा को–को परे ? (सुचिसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा कलाकारदेखि खेलकुद क्षेत्रका चर्चित व्यक्तिहरूसम्म समेटिएका छन्। कलाकार प्रकाश सपुत र राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल पनि सूचीमा परेका छन्।

सोमबार रास्वपाले विभिन्न समूह र क्लस्टर समेटेर ११० जनाको नामावली आयोगमा पेस गरेको हो। सूचीमा बालेन शाह र कुलमान घिसिङ समूहसँग नजिक मानिएका व्यक्तिहरू पनि समावेश छन्।

आदिवासी जनजाति पुरुषतर्फ पहिलो नम्बरमा डा. राम रामा छन् भने क्रिकेटर ज्ञानेन्द्र मल्ल पाँचौँ नम्बरमा परेका छन्। आदिवासी जनजाति महिलातर्फ टासी लाजोम पहिलो स्थानमा छन्।

खस आर्य पुरुषतर्फ विपिन कुमार आचार्य पहिलो नम्बरमा छन्। उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुप कुमार उपाध्याय छैटौँ स्थानमा छन्। उनीभन्दा अगाडि सचिन ढकाल, सुदीप ढकाल, प्रमोद न्यौपाने र रमेश प्रसाईं छन्। खस आर्य महिलातर्फ प्रतिभा रावल पहिलो नम्बरमा रहेकी छन्। त्यसपछि विदुषी राणा, लिमा अधिकारी (आचार्य), श्रद्धा कुँवर, समीक्षा बाँस्कोटा, टीका संग्रौला (ज्वाला) र क्रान्तिशिखा धितालको नाम छ।

थारु समुदायको पुरुषतर्फ सुरेन्द्र चौधरी र महिलातर्फ गीता चौधरी पहिलो नम्बरमा छन्।

दलित पुरुषतर्फ रुपक विश्वकर्मा घिमिरे पहिलो नम्बरमा छन् भने गायक प्रकाश सपुत दोस्रो स्थानमा छन्। प्रकाशचन्द्र परियार तेस्रो र रामजी राम चौथो नम्बरमा छन्। दलित महिलातर्फ रिमा विश्वकर्मा पहिलो नम्बरमा रहेकी छन्।

मधेशी समुदायको पुरुषतर्फ डा. नन्दन यादव र महिलातर्फ पुनम कुमारी अग्रवाल पहिलो नम्बरमा छन्।

मुस्लिम समुदायको पुरुषतर्फ आसिफ शाह पहिलो नम्बरमा छन्। उनको पछाडि मिर्जा रसिद वेग छन्। मुस्लिम महिलातर्फ समिना मिया पहिलो नम्बरमा रहेकी छन् भने त्यसपछि मोहना अन्सारी र समिउन निशाको नाम समावेश छ।