एमाले चुनावी तयारीमा सक्रिय, पुस २० भित्र प्रत्यक्ष उम्मेदवार सिफारिस गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनप्रति सुरुदेखि संशय व्यक्त गर्दै आएको नेकपा (एमाले) अन्ततः चुनावी प्रक्रियामा औपचारिक रूपमा होमिएको छ। फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै एमालेले उम्मेदवार छनोट प्रक्रिया अघि बढाएको हो।

केन्द्रीय कार्यालय च्यासलमा सोमबार बसेको सचिवालय बैठकले समानुपातिकतर्फको बन्दसूचीमा समेटिने नामबारे छलफल गरेको छ भने प्रत्यक्षतर्फका उम्मेदवारका नाम पुस २० भित्र निर्वाचन क्षेत्रीय कमिटीमार्फत सिफारिस गर्न निर्देशन दिएको छ।

पार्टी सचिव राजन भट्टराईका अनुसार आगामी पुस २० गतेभित्र प्रत्यक्षतर्फका आकांक्षीको नाम सिफारिस गर्ने निर्णय बैठकले गरेको हो। साथै समानुपातिकतर्फ निर्वाचन आयोगमा बुझाइने नामहरू पनि लगभग टुंगिएको जनाइएको छ।

उपमहासचिव लेखराज भट्टका अनुसार अध्यक्ष केपी शर्मा ओलीले समानुपातिक बन्दसूचीमा राखिने नामहरू अनुमोदन गरिसकेका छन्। अध्यक्षले आवश्यक ठानेमा केही संशोधनसहित आयोगमा दर्ता गरिने निर्णय भएको उनले बताए।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सचिव महेश बस्नेतले अन्य दलहरू निर्वाचन तयारीमा नलागेको आरोप लगाउँदै एमालेले संगठन र जनताबीचको सम्बन्ध सुदृढ गरिसकेको दाबी गरे। लोकतान्त्रिक दल भएकाले एमाले चुनावको विपक्षमा नरहने र प्रतिस्पर्धा स्वीकार गर्ने उनको भनाइ थियो।

बैठक स्रोतका अनुसार समानुपातिकतर्फ बुझाइने ११० जनाको सूची अध्यक्ष ओलीले तयार पारेका छन्। खस–आर्य समूहको पहिलो नम्बरमा गुरु बरालको नाम प्रस्ताव गरिएको छ।

बन्दसूची संशोधनको माग

अध्यक्ष ओलीले प्रस्तुत गरेको बन्दसूचीप्रति पार्टीभित्र संशोधनको माग उठेको छ। बैठक स्रोतका अनुसार गुरु बरालसँगै गोरखबहादुर बोगटी, खेम सुवेदी र पुष्प कँडेलको नाम समावेश गरिएपछि केही पदाधिकारीले सूची सच्याउन सुझाव दिएका हुन्।

उपाध्यक्ष पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्त, उपमहासचिवहरू योगेश भट्टराई, लेखराज भट्ट र रघुवीर महासेठ तथा सचिव यामलाल कँडेलले आ–आफ्ना तर्फबाट नाम प्रस्ताव गरेका छन्।

उपाध्यक्ष विष्ट र उपमहासचिव भट्टराईले भने समानुपातिक बन्दसूची मापदण्डका आधारमा तयार हुनुपर्ने अडान राखेका छन्। मापदण्ड बनाएर अघि बढ्दा पार्टी एकताबद्ध हुने, आकांक्षी व्यवस्थापन सहज हुने र असन्तुष्टि कम हुने उनीहरूको तर्क थियो।

योगेश भट्टराईले एउटै व्यक्तिलाई पटक–पटक फरक भूमिकामा प्राथमिकता दिनु उपयुक्त नहुने बताएका थिए। गुरु बराल कुनै स्पष्ट मापदण्डबिनै प्राथमिकतामा राखिएको भन्दै उनले असहमति जनाएका थिए।

सुवास नेम्वाङको निधनपछि ओलीद्वारा उपाध्यक्ष मनोनीत गरिएका बराल गत महाधिवेशनमा उपाध्यक्ष र केन्द्रीय सदस्य दुवैमा पराजित भएका थिए। राष्ट्रियसभाको निर्वाचनमा पनि पराजित भइसकेका बराललाई पहिलो नम्बरमा राखिएपछि पदाधिकारीहरूले पुनर्विचार गर्न आग्रह गरेका छन्।

स्रोतका अनुसार पार्टी सचिव पद्या अर्याल महिला समूहको पहिलो नम्बरमा प्रस्तावित छिन्। साथै निरु पाल, शान्ता चौधरी, टुका हमाल, भूमिका सुब्बा, गंगादेवी श्रेष्ठ, मञ्चु चौधरी र कोमल वलीको नाम पनि बन्दसूचीमा समेटिएको छ।

प्रस्तावित सूचीमा अधिकांश ओली समर्थक नेताहरू मात्र समेटिएको भन्दै गोकर्ण विष्ट र योगेश भट्टराईले पार्टी एकताको सन्देश जाने गरी सूची सच्याउनुपर्ने माग राखेका छन्। उनीहरूले खुला तर्फ पहिलो नम्बरमा गुरु बरालको सट्टा ईश्वर पोखरेललाई राख्न सुझाव दिएका छन्।

महाधिवेशनपछि एमाले एकताबद्ध बनेको सन्देश दिन ईश्वर पोखरेललाई प्राथमिकतामा राख्नुपर्ने उनीहरूको तर्क थियो। हार–जित बिर्साएर योगदानका आधारमा सबैलाई समेट्नुपर्ने धारणा विष्टले बैठकमा राखेका थिए।

त्यसैगरी बिन्दा पाण्डे, रचना खड्का, सर्मिला कार्की, उषाकिरण तिम्सेना, शम्भु थापा, टीकाराम भट्टराई, गौरी प्रधान र सुशील प्याकुरेललाई पनि समानुपातिक बन्दसूचीमा समेट्न सुझाव दिइएको स्रोतले जनाएको छ।

ओली पक्षकै केही पदाधिकारीले समेत प्रस्तुत सूचीमा पुनर्विचार आवश्यक रहेको धारणा राखेका थिए।