क्षति भए पनि ऐतिहासिक अवसरको ढोका खुलेको छ, अब विवाद होइन सहमति खोजौं : गृहमन्त्री अर्याल

काठमाडौं । नवनियुक्त गृहमन्त्री ओमप्रकाश अर्यालले आन्दोलनका क्रममा क्षति पुगे पनि त्यसले ऐतिहासिक परिवर्तनको ढोका खोलेको भन्दै अब विवाद अन्त्य गरी सहमतिको बाटो रोज्नुपर्ने बताएका छन्।

सोमबार गृह मन्त्रालयमा पदभार ग्रहण गरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री अर्यालले भने, “अहिले पछाडि फर्किने समय होइन। विवाद हटाएर अब अघि बढ्ने हो। निर्वाचनमार्फत् नयाँ सुरुवातको प्रमाणीकरण गर्नुपर्छ।”

उनले हालको परिप्रेक्ष्यमा मुलुकलाई दीर्घकालीन रूपमै सही मार्गमा लैजाने अवसर आएको बताउँदै तीनैवटा राज्य अंगको संरचना निर्माण अबको प्रमुख कार्यभार भएको स्पष्ट पारे। “राज्यका सबै संरचना अझै पूर्ण रूपमा बनेका छैनन्। अब तिनलाई सुदृढ बनाएर राज्य सञ्चालन गर्न सक्ने अवस्था बनाउनु पर्छ,” उनले भने।

आन्दोलनमा ज्यान गुमाएकाको सम्मानमा शोक दिवस

गृहमन्त्री अर्यालले जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरूको स्मृतिमा राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने निर्णय गरेका छन्।

यस निर्णयलाई मन्त्रिपरिषद्को बैठकमार्फत औपचारिकता दिइनेछ। शोक दिवस कहिले मनाउने भन्ने टुंगो मन्त्रिपरिषद्ले गर्नेछ।

साथै, मृतकका परिवारलाई तत्कालका लागि एक लाख रुपैयाँ काजकिरिया खर्च उपलब्ध गराउने निर्णय पनि गृहमन्त्री अर्यालले गरेका छन्।

“यो परिवर्तन सस्तो छैन, यसमा धेरै युवाको ज्यान गएको छ,” गृहमन्त्री अर्यालले भने, “अब हामीले उनीहरूको बलिदानको सम्मान गर्न र नयाँ युगको निर्माणमा एक भएर लाग्नुपर्छ।”