‘हरिबहादुरको जुत्ता’को ‘ढाका टोपी शिरैमा’ बोलको गीत सार्वजनिक
काठमाडौं । हरिवंश आचार्यको मुख्य भूमिका रहेको बहुप्रतीक्षित फिल्म ‘हरिबहादुरको जुत्ता’ को दोस्रो गीत ‘ढाका टोपी शिरैमा’ सार्वजनिक गरिएको छ ।
दानबहादुर कार्कीको शब्द र दीपक शर्माको संगीत रहेको यस गीतमा आशिष अविरल र मेलिना राईले स्वर दिएका छन्। सार्वजनिक गीतको भिडिओमा हरिवंश आचार्यसँगै प्रकाश सपुत र स्वस्तिमा खड्का फिचर्ड छन्। भिडियोमा प्रकाश र स्वस्तिमाको जोडीलाई आकर्षक शैलीमा नाचगान प्रस्तुत गरिएको छ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै कलाकार हरिवंश आचार्यले ‘हरिबहादुर’ क्यारेक्टरलाई फिल्ममा उतार्नुको कारण बताए। उनले भने, “टेलिभिजनमा निरन्तरता दिन गाह्रो थियो। तर, ठूलो पर्दामा लग्दा यो पात्रलाई दीर्घकालीन बनाइराख्न सकिन्छ। सिरियलमा अरूलाई रुवाउने हरिबहादुर, फिल्ममा भने आफैँ रोएको छ।”
कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्काले हरिवंश आचार्यसँग काम गर्न पाएकोमा गर्व लागेको बताइन्। अभिनेता प्रकाश सपुतले पनि हरिबहादुर जस्तो आइकोनिक पात्रसँग स्क्रिन सेयर गर्न पाउनु आफूका लागि सौभाग्य भएको प्रतिक्रिया दिए।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको फिल्ममा हरिवंश, प्रकाश र स्वस्तिमासँगै प्रियंका कार्की, दिव्य देव, हरिहर शर्मा, राजाराम पौडेल, दीनेश काफ्ले, कमलमणि नेपाललगायत कलाकारको अभिनय रहनेछ।
सरोज ओली र मोहितवंश आचार्य निर्माता रहेका ‘हरिबहादुरको जुत्ता’ फिल्म यस वर्षको दसैँको अवसरमा, फूलपातीको दिनबाट देशव्यापी प्रदर्शनमा आउनेछ।
