कवाड व्यवसायीको काठमाडौं महानगर घेराउ, बालेनले गरिखान नदिएको आरोप
काठमाडौँ । पेशा व्यवसाय गर्ने संवैधानिक अधिकार सुनिश्चित गर्नुपर्ने मागसहित काठमाडौं महानगरविरुद्ध कवाड व्यवसायीहरू पुनः आन्दोलनमा उत्रिएका छन्।
उनीहरूले आज काठमाडौं महानगरपालिकाको कार्यालय घेराउ गर्दै विरोध जनाएका छन्।
कवाड व्यवसायी, संकलक तथा मजदुरमाथि महानगर प्रहरीले कुटपिट, अपहरण, ज्यादती र संरचना भत्काउनेजस्ता गतिविधि गरेको भन्दै ती कार्य तत्काल रोक्न, संलग्न प्रहरीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन माग गरिएको छ।
कवाड व्यवसायी समाजको आव्हानमा पाँच बुँदे मागसहित सुरु भएको आन्दोलनले निर्णायक मोड लिने चेतावनी दिइएको छ।
पत्रकार सम्मेलनमार्फत व्यवसायी ओमप्रकाश सिंहले काठमाडौं महानगरका मेयर बालेन शाहले आफूहरूलाई गरिखान नदिएको गुनासो गर्दै अब चुप लागेर नबस्ने स्पष्ट पारे।
