रौतहटमा सुटकेसभित्र भेटिएको रुबीको शव : रिक्सा बिग्रिएपछि सडकमै छाडिएको खुलासा, चालक पक्राउ
काठमाडौँ । रौतहटको माधवनारायण नगरपालिका–२ मुडवलवाकी २६ वर्षीया रुबीकुमारी साहको शव सुटकेसमा फेला परेको घटनामा संलग्न रहेको आरोपमा ई–रिक्सा चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शव शनिबार राति गौर नगरपालिका–९ स्थित मुडवलवा गेटनजिकै सडक किनारामा सुटकेसभित्र फेला परेको थियो। अनुसन्धानका क्रममा शव फाल्न भाडामा लिइएको रिक्सा बिग्रिएपछि आरोपितले सुटकेस सडकमै छाडेर भागेको खुलेको हो।
पक्राउ परेका रिक्सा चालक लक्ष्मण महराले आफूले सामान के हो भन्ने थाहा नभएको प्रहरीलाई बताएका छन्। उनका अनुसार एक व्यक्तिले ५ सय रुपैयाँमा गंगापिप्रासम्म पुर्याइदिन रिक्सा भाडामा लिएका थिए। तर बाटोमा रिक्सा बिग्रिएपछि सामानसहित छाडेर उनीहरू फरार भएका थिए।
रौतहट प्रहरीले हत्यामा संलग्न मुख्य शंकास्पद व्यक्तिको पहिचान भइसकेको जनाएको छ। ती व्यक्ति लामो समयदेखि रुबीसँग सम्पर्कमा थिए र केही समयअघि वैदेशिक रोजगारीबाट फर्किएका थिए।
प्रहरीका अनुसार, रुबीको शव सुटकेसमा प्याक गर्न प्रयोग गरिएको सुटकेससमेत ती व्यक्तिले विदेशबाट ल्याएका थिए।
प्रहरी स्रोतका अनुसार, शनिबार साँझ ती व्यक्तिले रुबीलाई बोलाएर हत्या गरेका हुन्। सो दिन रुबीले छोरा पढाइरहेको डेराबाट सामान लिन गोरतर्फ जान लागेको आमालाई बताएकी थिइन्। त्यसपछि उनि घर फर्किनन्।
त्यही राति मुडवलवा गेटनजिक सुटकेस फेला परेको थियो। स्थानीयले प्रहरीलाई खबर गरे पनि राति सुटकेस नखोलिएको र भोलिपल्ट बिहानमात्र शव भेटिएको प्रहरीले जनाएको छ।
रुबीको १३ वर्षअघि भारतको मुजफ्फरपुर निवासी शिवसागर सुडीसँग विवाह भएको थियो। उनी केही समयदेखि आमासँग डेरामा बस्दै आएकी थिइन्।
हत्याअघि रुबी ब्युटी पार्लर गएकी थिइन् र छोरालाई जुस ल्याइदिने भन्दै फोन गरेकी थिइन्। त्यसपछि रातिसम्म नआएपछि आमाले खोजी गर्दा उनको मोबाइल पहिले उठेको थिएन, पछि स्विच अफ भएको थियो।
घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको भन्दै प्रहरीले छिट्टै सम्पूर्ण विवरण सार्वजनिक गर्ने जनाएको छ।
