नक्कली प्रमाणपत्र काण्डमा पक्राउ परेका रास्वपा नेता कँडेल पार्टीबाट निलम्बित

काठमाडौँ । नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का बागमती प्रदेश प्रशिक्षण विभाग संयोजक हरिप्रसाद कँडेललाई पार्टीले निलम्बन गरेको छ।

कँडेलले सञ्चालन गर्दै आएको इन्स्टिच्युटमार्फत नक्कली शैक्षिक प्रमाणपत्र खरिदबिक्री हुने गरेको पुष्टि भएपछि रुपन्देही प्रहरीले उनलाई पक्राउ गरेको थियो।

रास्वपाका केन्द्रीय अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमालले कँडेललाई पत्र पठाएर पार्टीबाट निलम्बन गरिएको जानकारी दिएका छन्।

यसअघि भदौ १ गते रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१ स्थित बेलहिया बसपार्कबाट भारतको कानपुर नौबस्तीका २५ वर्षीय अभिषेक यादव नक्कली प्रमाणपत्र, स्टाम्प, होलोग्राम र स्टिकरसहित पक्राउ परेका थिए।

प्रहरी अनुसन्धानका क्रममा यादवले ती सामग्री कँडेलकै मागअनुसार तयार गरिएको बयान दिएका थिए। सोही बयानका आधारमा चितवनको कालिका नगरपालिका–५ निवासी ५० वर्षीय कँडेललाई प्रहरीले पक्राउ गरेको हो।

रुपन्देही प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।