पुराना दल केही गर्न सक्दैनन् भन्ने भ्रम फैलाउने प्रयास हुँदैछ : देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पुराना राजनीतिक दलहरूमाथि नकारात्मक धारणा बनाइ समाजमा दिग्भ्रम फैलाउने प्रयास भइरहेको आरोप लगाएका छन् ।
सोमबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले यस्ता चुनौती र भाष्यको सामना गर्दै कांग्रेसलाई अझ शसक्त र क्रियाशील बनाउनु पर्ने आवश्यकतामा जोड दिए ।
“पुराना पार्टीहरूले केही गर्न सक्दैनन् भन्ने अतिरञ्जित र नकारात्मक भाष्य निर्माण गरेर समाजलाई दिग्भ्रमित बनाउने प्रयास भइरहेको छ,” उनले भने, “यस्ता भाष्य र चुनौती चिर्दै पार्टीलाई अझ बढी सक्षम, सशक्त र गतिशील बनाउन हामी सबैले समर्पणका साथ काम गर्नु आवश्यक छ ।”
देउवाले कांग्रेसका भ्रातृ संस्था र संगठनहरूलाई सक्रिय र व्यवस्थित बनाउँदै पार्टीभित्र व्यापक एकता कायम गर्नुपर्ने बताए। उनले आगामी निर्वाचनमा बहुमत ल्याएर कांग्रेस नेतृत्वको स्थिर सरकार गठन गर्ने लक्ष्यमा लाग्न सबैलाई आह्वान गरे ।
कार्यक्रममा उनले नेपाल विविध जातजाति, भाषा र संस्कृतिले भरिएको देश भएको उल्लेख गर्दै, यस्तो समाजमा सबैको समान सहभागिता सुनिश्चित गर्ने दिशामा कांग्रेसले निरन्तर भूमिका खेल्दै आएको धारणा व्यक्त गरे ।
