गौर हत्याकाण्डको मुद्दा अघि बढाउन सर्वोच्चको परमादेश

काठमाडौं । सर्वोच्च अदालतले गौर हत्याकाण्ड सम्बन्धी मुद्दा अघि बढाउन परमादेश जारी गरेको छ। न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले उक्त परमादेश दिएको हो ।

यो आदेशसँगै १९ वर्षअघि रौतहटको गौरमा भएको भीषण घटनाको अनुसन्धान र अभियोजन प्रक्रिया औपचारिक रूपमा अघि बढ्ने भएको छ। २०६३ साल चैत ७ गते मधेसी जनअधिकार फोरम र तत्कालीन माओवादी कार्यकर्ताबीचको झडपमा २७ जना माओवादी कार्यकर्ताको मृत्यु भएको थियो।

घटनापछि राष्ट्रिय मानव अधिकार आयोगले १३० जनाविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको थियो। तीमध्ये ६६ जनाविरुद्ध पहिले नै जाहेरी परेका छन् भने बाँकीको नाम आयोगले पछि किटान गरेको हो।

उक्त समय मधेसी जनअधिकार फोरम उपेन्द्र यादवको नेतृत्वमा रहेको थियो। उनी त्यसयता पटक–पटक मन्त्री र सांसद भइसकेका छन्। घटनालाई विगतमा विभिन्न राजनीतिक सहमति र वार्तामार्फत समाधानको प्रयास गरिए पनि दोषीउपर कारबाहीको प्रक्रिया अघि नबढेको भन्दै आलोचना हुँदै आएको थियो।

मृतकहरूलाई सरकारले ‘शहीद’ घोषणा गरिसकेको छ।

सर्वोच्चको आदेशपछि सांसद प्रभु साहले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “आजको आदेशले न्यायको जित भएको छ। गौर नरसंहारका पीडितहरूमा आशा र विश्वास पुनः बलियो भएको छ। दोषीहरू अब कानुनी दायरामा आउने अपेक्षा गरिएको छ।”

यसअघि रौतहटकै अर्को विवादास्पद घटना — बम विष्फोटमा घाइते भएका व्यक्तिलाई इँटाभट्टामा जलाइएको भनिएको मुद्दा पनि सर्वोच्च अदालतकै परमादेशपछि अघि बढाइएको थियो।