कांग्रेसमा शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वास आवश्यक छ : महामन्त्री गगन थापा

भक्तपुर — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीभित्र शुद्धीकरण, आत्मसमीक्षा र आत्मविश्वासको खाँचो रहेको बताएका छन्।

शनिबार बालकोटमा आयोजित स्वर्गीय श्यामबहादुर कार्कीको १८औँ स्मृति सभामा बोल्दै उनले पार्टीले आत्मविश्वास गुमाएको अवस्थामा मुलुकको नेतृत्व गर्न नसक्ने उल्लेख गर्दै, सबै नेताकार्यकर्ता एकजुट भएर आत्मसमीक्षा गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

“देशमा असन्तुष्टि छ, नागरिकमा आक्रोश छ। यस्तो अवस्थामा देशलाई मार्गदर्शन गर्न सक्ने क्षमता कांग्रेससँग छ भन्ने सन्देश दिनुपर्ने बेला हो,” थापाले भने, “तर, पार्टीभित्र चुनाव हारिन्छ कि भन्ने डरले राजनीति नै कमजोर बनिरहेको देखिन्छ। त्यो डर त्यागेर अग्रज नेताहरूको मार्गदर्शनमा पार्टीलाई मजबुत बनाउन लाग्नुपर्छ।”

उनले कांग्रेसमा नेतृत्व क्षमता छ भन्ने जनविश्वास पुनःस्थापना गर्न युवाको असन्तुष्टिलाई बुझेर मुलुकमै अवसर सिर्जना गर्ने काममा ध्यान दिनुपर्ने धारणा राखे।

कार्यक्रममा प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले भविष्यमा नेपाली कांग्रेसले कृत्रिम बौद्धिकता (AI) सँग पनि राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने अवस्था आउन सक्ने उल्लेख गर्दै ‘एआई राजनीति’ को चुनौतीका लागि तयार रहनुपर्ने बताए।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य तथा सांसद रमा कोइराला पौडेल, बागमती प्रदेशका पूर्वमन्त्री सुरजचन्द्र लामिछाने र कृष्णलाल भँडेल, प्रदेशसभा सदस्य सुरेश श्रेष्ठ, वरिष्ठ पत्रकार कविर राणालगायतले स्व. कार्कीको योगदानको चर्चा गरेका थिए।

स्मृति सभाको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ७२ जनाले रक्तदान गरेका थिए। साथै, विद्यार्थीहरूलाई १०० वटा स्कुल झोला, स्टेशनरी र खेल सामग्री वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष विष्णुराज कार्कीले जानकारी दिए।