झलनाथतर्फ संकेत गर्दै माधव नेपालको कटाक्ष स् ओलीजीको सेवा गरेर बसेको भए भइहाल्थ्यो त

२३ साउन, काठमाडौं — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नै पार्टीका वरिष्ठ नेता झलनाथ खनाललाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन्। उनले पार्टी र पूर्वविद्रोहबारे सार्वजनिक रूपमा प्रश्न उठाउने कार्यप्रति असन्तुष्टि जनाउँदै खनालप्रति अप्रत्यक्ष कटाक्ष गरेका हुन्।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेपालले पार्टीको विरोध गर्ने र एमालेबाट विद्रोहको औचित्य नभएको भन्ने हो भने एमालेमै बसेर केपी शर्मा ओलीको सेवा गरे हुने टिप्पणी गरे।

उनले भने, “मिडियामा गएर पार्टीको विरोध गर्ने, विद्रोहको औचित्य छैन भन्ने हो भने किन आउनु पर्‍यो? त्यस्तो लाग्छ भने त ओलीजीको सेवा गरेर बसे भइहाल्थ्यो नि।”

नेपालले पार्टीको अनुशासन पालना गर्नुपर्ने र त्यसले नै पार्टीको प्रतिष्ठा जोगाउने उल्लेख गरे। उनले एमाले अध्यक्ष ओलीले संविधान मिचेर संसद भंग गरेको र त्यसकै विरोधमा नयाँ पार्टी गठन गरिएको स्पष्ट पारे।

उनको भनाइमा, “ओलीले दुई पटक संविधानविपरीत संसद भंग गरे। त्यसको विरोधमा उभिनु गल्ती थियो? कि ओलीजीको चाकरी गरेर त्यहीं बस्नुपर्थ्यो?”

नेपालले थपे, “हामीले रहरले पार्टी छाडेका होइनौं। त्यो समयमा संविधानमाथि हस्तक्षेप भयो, कम्युनिष्ट आन्दोलन बदनाम गरिँदै थियो। त्यसलाई रोक्न हामीले विद्रोह ग-यौं। ठिक गर्‍यौं।”

अध्यक्ष नेपालले नेकपा (एकीकृत समाजवादी) ले नेपालको कम्युनिष्ट आन्दोलनलाई रक्षा गर्न महत्वपूर्ण भूमिका खेलेको दाबी पनि गरे।