रामहरिलाई रास्वपाको प्रश्न : ‘नालायकीपनको जिम्मा कसले लिने ?’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समितिको प्रतिवेदनपछि राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा पदमा बस्न उपयुक्त नरहेको स्पष्ट पारेको छ ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै रास्वपाका प्रवक्ता मनिष झाले प्रतिवेदनमा खतिवडाको नाम स्पष्ट रूपमा उल्लेख नभए पनि उनी नैतिक रूपमा जिम्मेवार रहेको दाबी गरे। उनले नाम उल्लेख नभएको बहानामा उम्किन नमिल्ने बताए।

प्रवक्ता झाले भने, “कुलिङ अफ पिरियडको प्रावधानसम्बन्धी प्रकरणमा सभापतिमाथि नैतिक प्रश्न उठेको छ। यस्ता विषय आउँदा अघिसम्म हामीसँग प्रश्न सोधिन्थ्यो, अब उहाँसँग सोधिनेछ। यो नालायकीपनको जवाफ कसले दिने? जिम्मेवारीपनको जवाफ कसले दिने?”

उनले ‘नाम छैन’ भन्दै पन्छिन खोज्नु उचित नहुने उल्लेख गर्दै, “अहिलेको प्रधानमन्त्री भन्नासाथ को सम्झिन्छ? त्यस्तै यहाँ पनि जिम्मेवारी पन्छिन सकिँदैन,” भन्दै अप्रत्यक्ष रूपमा सभापति खतिवडालाई नैतिक जिम्मेवारी लिन आग्रह गरे।