राष्ट्रपति पौडेलद्वारा वसन्तपुर क्षेत्रको सम्पदा अवलोकन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज काठमाडौँस्थित विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्रको अवलोकन गरेका छन्। उनीसँगै उनकी पत्नी तथा प्रथम महिला सविता पौडेल पनि सहभागी थिइन् ।

अवलोकनका क्रममा राष्ट्रपतिलाई पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्रालयका सचिव हरिप्रसाद मैनाली, पुरातत्व विभागका महानिर्देशक सौभाग्य प्रधानाङ्ग र हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक काजीमान प्याकुरेललगायतले स्वागत गरेका थिए।

राष्ट्रपति पौडेलले हनुमानढोका दरबार संग्रहालयसँगै कालभैरव, तलेजु मन्दिर, नौतले दरबार, नासल चोक, मूलचोक, त्रिशूल चोकलगायत ऐतिहासिक स्थलहरूको अवलोकन गरे।

सो अवसरमा प्रतिनिधिसभा सदस्य सपना राजभण्डारी, प्रदेशसभा सदस्य शैलेन्द्र वज्राचार्य तथा काठमाडौँ महानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरू पनि सहभागी थिए।