दुर्गा प्रसाईँसहित ४ जनालाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश

काठमाडौं — उच्च अदालत पाटनले मेडिकल व्यवसायी दुर्गा प्रसाईँसहित चार जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीशद्वय सुदर्शनद्व भट्ट र मुनेन्द्र प्रसाद अवस्थीको संयुक्त इजलासले सोमबार सो आदेश दिएको हो। आदेशअनुसार बैंकिङ कसुर मुद्दामा प्रसाईँलाई २५ लाख रुपैयाँ र राज्यविरुद्धको अपराधसम्बन्धी मुद्दामा ३ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्न भनिएको छ।

यसैगरी, तीनकुने घटनासम्बन्धी मुद्दामा प्रसाईँलाई साढे ३ लाख रुपैयाँ धरौटी तोकिएको छ। उक्त घटनामा पक्राउ परेका अन्य तीन जनालाई पनि धरौटीमा छाड्न अदालतले आदेश दिएको छ।

तीनकुने घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका सातजनामध्ये प्रसाईँसहित चार जनाले उच्च अदालतमा पुनरावेदन गरेका थिए, भने बाँकी तीन जनाले पुनरावेदन गरेका छैनन्।