प्रचण्डलक्षित जनार्दनको कटाक्ष : ३१ लाख मत ११ लाखमा झर्नुको कारण को हो ?, म अर्थमन्त्री हुँदा ल्याएको कार्यक्रम प्रचण्ड प्रधानमन्त्री हुँदा खारेज किन गरियो ?
काठमाडौं, साउन १८ – नेकपा (माओवादी केन्द्र) को जारी स्थायी कमिटी बैठकमा उपमहासचिव जनार्दन शर्माले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’प्रति कडा टिप्पणी गरेका छन्। शर्माले पार्टीको कमजोर नतिजाको सम्पूर्ण जिम्मेवारी आफूलाई थोपर्ने प्रवृत्तिप्रति असन्तोष जनाउँदै आफूमा कमजोरी देखिए आत्मालोचना गर्न तयार रहेको स्पष्ट पारे।
“३१ लाख मत घटेर ११ लाखमा सीमित हुनुमा मेरो दोष छ भने म आत्मालोचना गर्न तयार छु,” शर्माले भने, “तर होइन भने, गल्ती जहाँबाट भएको हो, त्यहीँबाट आत्मालोचना हुनुपर्छ।”
शर्माले पार्टी निर्माणका लागि आफूले प्रश्न उठाउँदा सजाय भोग्न तयार रहेको भन्दै भित्रीरूपमा पार्टी फुट्ने दाबी गर्नेहरूलाई पनि चुनौती दिए। उनले आफू पार्टीमै अडिरहने प्रतिबद्धता दोहोर्याए।
आर्थिक कार्यक्रम खारेज गरिएको गुनासो
शर्माले आफू अर्थमन्त्री हुँदा ल्याएका किसानमुखी कार्यक्रमहरू प्रचण्ड प्रधानमन्त्री बनेपछि खारेज गरिएकोप्रति पनि गुनासो गरे।
“मैले किसान पेन्सन, प्रत्येक पालिकामा ३०० कृषि भोलिन्टियर, बाँझो जमिन उपयोगजस्ता कार्यक्रम बजेटमार्फत ल्याएको थिएँ,” उनले भने, “तर ती कार्यक्रम प्रचण्ड प्रधानमन्त्री बनेपछि कार्यान्वयन नै नगरी हटाइयो।”
उनले पार्टीले समाजवादको बाटो छोडेर उदारवाद र नवउदारवादको बखान गर्न थालेको पनि टिप्पणी गरे। “हाम्रो नेतृत्व मजदुर–किसानको बाटोबाट टाढा भएकोले मसँगको प्रेम घटेको हो,” शर्माको भनाइ थियो।
संघीयता कार्यान्वयनमा नेतृत्वको असफलता
शर्माले संघीयताको कार्यान्वयनमा पनि नेतृत्वको इमान्दारिता नदेखिएको आरोप लगाए। “यदि नेतृत्व इमानदार हुन्थ्यो भने प्रदेशहरू बलिया भइसकेका हुन्थे, प्रदेशमा प्रहरीसम्म हुन्थ्यो,” उनले भने।
उनले जाति, वर्ग, क्षेत्र र समुदायसँग पार्टीको दूरी बढेको उल्लेख गर्दै पहिचानका मुद्दा बिर्सिनु नहुने चेतावनी दिए। शर्माका अनुसार यी मुद्दा उठाउँदै पार्टीले जनस्तरसँग पुनः सम्बन्ध स्थापित गर्नुपर्छ।
