शेखर कोइरालाको चेतावनी रामहरि खतिवडालाई: “नैतिकता छैन भने राजनीति नगरे हुन्छ”

विराटनगर, साउन १८ – नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले निजामती सेवा विधेयकमा ‘कुलिङ पिरियड’सम्बन्धी त्रुटिपूर्ण प्रावधानबारे गम्भीर असन्तोष व्यक्त गर्दै प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले पद नत्यागेकोमा आक्रोश प्रकट गरेका छन्।

विराटनगरमा आयोजित गुराँस पुस्तकालयको स्थापना दिवस तथा सम्मान समारोहमा बोल्दै डा. कोइरालाले विवादास्पद विधेयकमा हस्ताक्षर गरेर पनि खतिवडाले नैतिक जिम्मेवारी नलिएर पदमा बसिरहनु अनुचित रहेको बताए।

“यदि राजनीतिमा नैतिकता छैन भने राजनीति नगरे हुन्छ,” उनले स्पष्ट शब्दमा भने, “सभापति पद छोड्दैमा राजनीति सकिँदैन।”

कोइरालाले वर्तमान सरकारप्रति पनि आलोचना गर्दै कांग्रेस सत्ता साझेदार भए पनि सरकार जवाफदेही, पारदर्शी र जनउत्तरदायी बन्न नसकेको धारणा राखे।

उनले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता सिमित पार्ने प्रयासप्रति चिन्ता जनाउँदै भने, “सामाजिक सञ्जालमा केही लेखे पनि मुद्दा लाग्ने, प्रहरी लगाएर पक्राउ गर्ने, अनि जनमत उठाउनेहरूलाई चुप लगाउने मानसिकता हावी भएको छ।”

विराटनगरलाई ऐतिहासिक राजनीतिक आन्दोलनको थलो भन्दै कोइरालाले फेरि यहीँबाट भ्रष्टाचार, दण्डहीनता र अपारदर्शिताविरुद्ध आवाज उठाउन सर्वसाधारणलाई आह्वान गरे।

“आजको अवस्थामा लोकतन्त्र संकटमा परेको छ,” उनले भने, “कांग्रेसको विचार, नीति र सिद्धान्तहरू समेत दबावमा छन्।”

उनले कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकासहित राज्यका तीनै अंगमा गम्भीर समस्या देखिन थालेको उल्लेख गर्दै सुधारको खाँचो औंल्याए।