संविधानकै कारण एकल बहुमत सम्भव छैन, सहकार्य अनिवार्य : देउवा

काठमाडौं, साउन १६ । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले संविधानमै गरिएको व्यवस्थाका कारण कुनै पनि राजनीतिक दलले संसदमा स्पष्ट बहुमत ल्याउन नसक्ने बताए ।

पार्टीको थारु विभागद्वारा आयोजित कार्यक्रममा बोल्दै देउवाले दलहरूबीच सहकार्यबिना सरकार गठन सम्भव नहुने स्पष्ट पारे। उनले संविधानलाई समावेशी, सबैलाई जोड्ने दस्तावेजको रूपमा चित्रित गरे।

“संविधानले महिला, दलित, जनजाति, आदिवासी सबैलाई समेटेको छ,” देउवाले भने, “तर यसकै कारण कुनै दलको एकल बहुमत आउने अवस्था छैन। सरकार बनाउन मिलेर जानैपर्छ।”

उनका अनुसार यो व्यवस्था समावेशी लोकतन्त्रको अभ्यास भए पनि, परिणामस्वरूप एकलदलीय शासन सम्भव नहुने बनावट भएको छ।

देउवाले पार्टी एकता र सुदृढ संगठन निर्माणमा जोड दिँदै, “यदि कांग्रेस एकढिक्का भएर अघि बढ्यो भने बहुमत ल्याउन सक्ने सम्भावना अझै बाँकी छ,” भन्दै कार्यकर्तालाई एकतामा जुट्न आग्रह गरे।

कार्यक्रममा देउवाले थारु समुदायप्रति आफू र पार्टीको प्रतिबद्धता दोहोर्याउँदै स्मरण गराए कि लुम्बिनी प्रदेशमा थारु समुदायबाट मुख्यमन्त्री नियुक्त गर्नु र पार्टीमा सहमहामन्त्रीको एक पद थारु समुदायलाई अनिवार्य दिने व्यवस्था पनि कांग्रेसकै योगदान रहेको हो।

उनको भनाइ अनुसार, कांग्रेसको समावेशी दृष्टिकोणले मात्रै सबै समुदायको हकअधिकार सुनिश्चित हुनसक्छ।