एक वर्षमा वैदेशिक रोजगारीमा मृत्यु भइका १,१८० शव बोर्डले ल्यायो नेपाल

काठमाडौँ — वैदेशिक रोजगारीको सिलसिलामा विभिन्न मुलुकमा मृत्यु भएका १,१८० नेपाली श्रमिकको शव अघिल्लो आर्थिक वर्ष २०८१/०८२ मा स्वदेश फर्काइएको छ। वैदेशिक रोजगार बोर्डले बिहीबार पत्रकार सम्मेलन गर्दै यो तथ्यांक सार्वजनिक गरेको हो।

कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले पत्रकार भेटघाटमा जानकारी गराउँदै तीमध्ये ७० शव विदेशमा अलपत्र अवस्थामा भेटिएको बताए। शवलाई सम्बन्धित परिवारसम्म पुर्‍याउनका लागि विद्युतीय शववाहन (एम्बुलेन्स) को आवश्यकता बढ्दै गएकाले दुई नयाँ विद्युतीय शववाहन खरिद गर्न बजेट विनियोजन गरिएको उनले जानकारी दिए।

“लास ल्याउनु प्रगति होइन, पीडादायी अवस्था हो”

उप्रेतीले विदेशबाट मृत शरीर वा बिरामी ल्याउनुपर्ने अवस्थालाई प्रगतिको संज्ञा दिनु दुःखद भएको भन्दै आगामी वर्षमा यस्तो संख्या घटाउने लक्ष्य लिइएको बताए।

उनले विदेशमा जेल परेका अधिकांश नेपाली लागुऔषध वा मदिरा सेवनजस्ता कुलतमा संलग्न रहेको पाइएको भन्दै उनीहरू कानुनी प्रक्रियामा जान नचाहेकाले सरकारले उद्धारका लागि विनियोजित बजेटसमेत खर्च गर्न नसकेको उल्लेख गरे।

अन्य सहयोग र कार्यक्रमहरू

बोर्डले अघिल्लो वर्ष १,२५० जना मृतकका परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ। त्यस्तै, विदेशमा अंगभंग वा अस्वस्थ भएका ६९८ कामदारलाई र २७५ कामदारका परिवारलाई स्वास्थ्य उपचार खर्चमा सहयोग गरिएको छ।

कामदारका ९९० सन्तानलाई छात्रवृत्ति प्रदान गरिएको जानकारी दिँदै उप्रेतीले वैदेशिक रोजगारीमा रहेका वा फर्किएका नागरिकलाई लक्षित गर्दै आगामी वर्ष केही नयाँ कार्यक्रम सार्वजनिक गरिने जानकारी दिए।

नयाँ कार्यक्रम: सांसद अभिमुखीकरण र ‘रिटर्नी उद्यमी आइडल’

बोर्डले संघीय तथा प्रदेश सांसदहरूका लागि वैदेशिक रोजगारसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्नेछ। त्यस्तै, विदेशबाट फर्किएर उद्यममा लागेका सफल व्यक्तिहरूलाई सम्मान गर्न ‘रिटर्नी उद्यमी आइडल’ कार्यक्रम सुरु गरिनेछ।

पूर्वप्रस्थान अभिमुखीकरण तालिम (Pre-departure orientation training) को पाठ्यक्रमलाई समयानुकूल बनाउन मस्यौदा तयार भइसकेको र त्यसमा सुझावहरू स्वागत गरिएको उप्रेतीले बताए।

साथै, साउदी अरब जस्ता मुलुकको कानुनी प्रक्रिया जटिल भएकाले शव ल्याउने प्रक्रियामा ढिलाइ हुने कुरा पनि उनले स्पष्ट पारे।