सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत
कैलाली — सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेका छन्। नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले समर्थन फिर्ता लिएपछि उनले विश्वासको मत लिएका थिए।
अचम्मको विषय के रह्यो भने, समर्थन फिर्ता लिएको नाउपाकै एक सांसद कैलाश चौधरीले शाहको पक्षमा मतदान गरे। नाउपाका सात जना सांसदमध्ये छैजना मतदानमा सहभागी भएनन्, तर उपस्थित एक सांसद चौधरीले मुख्यमन्त्रीलाई मत दिए।
मुख्यमन्त्री शाहलाई नेपाली कांग्रेसका १८ र नेकपा एमालेका ११ सांसदको मतसमेत प्राप्त भएको छ। यो समर्थनपछि शाह नेतृत्वको सरकार यथावत् रहने भएको छ।
