अन्यभन्दा कांग्रेसकै सिद्धान्त र आदर्श उत्कृष्ट छन् : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिस्पर्धी दलहरुभन्दा नेपाली कांग्रेसको सिद्धान्त र आदर्श उत्कृष्ट भएको दाबी गरेका छन् ।
सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले लोकतान्त्रिक समाजवादको मार्गदर्शनमा कांग्रेस अगाडि बढिरहेको बताए।
“आजको समयमा पार्टीको सिद्धान्त र आदर्श अत्यन्तै महत्वपूर्ण छ,” उनले भने, “अन्य दलको तुलनामा हाम्रो सिद्धान्त नै उत्कृष्ट छ। यसलाई देशव्यापी रूपमा बुझाउन जरुरी छ।”
उनले कांग्रेसको लोकतान्त्रिक समाजवादको विचारलाई अझ व्यापक रूपमा फैलाउन सके पार्टीलाई बहुमतसहितको शक्तिशाली राजनीतिक शक्ति बनाउन सकिने उल्लेख गरे।
साथै देउवाले आदिवासी, जनजाति र सबै जात–जातिलाई कांग्रेसभित्र समेट्न आवश्यक रहेको पनि बताए।
