चीनले भरतपुर क्यान्सर अस्पताल, सिभिल अस्पताल र रसुवागढी–केरुङ ट्रान्समिसन लाइनमा सघाउने

बाढीपीडित संरचनाको पुनर्निर्माणमा चीनको सहयोग प्रतिबद्धता

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तर्राष्ट्रिय विकास सहायता नियोग (CIDCA) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच अर्थ मन्त्रालयमा औपचारिक भेटवार्ता सम्पन्न भएको छ ।
भेटमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, विकास साझेदारी तथा आगामी परियोजनाहरूको कार्यान्वयनबारे छलफल भएको थियो।

भेटपछिको समारोहमा दुई देशबीच चार वटा परियोजनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएका छन्।

मुख्य सम्झौताहरू यसप्रकार छन्:

वि.पि. कोइराला मेमोरियल क्यान्सर अस्पताल, भरतपुरमा बोनम्यारो ट्रान्सप्लान्ट केन्द्र निर्माण – १,८३४ वर्ग मिटर क्षेत्रफलमा केन्द्र निर्माण र अत्याधुनिक मेसिनरी जडान गरिनेछ।

निजामती कर्मचारी अस्पतालको विस्तारका लागि सम्भाव्यता अध्ययन – सेवाको स्तरीयता र पहुँच विस्तार गरिनेछ।

मानव संशाधन विकास – चीनमा आयोजना हुने १,२७० जना नेपाली सरकारी कर्मचारीलाई लक्षित तालिम तथा सेमिनारहरूमा सहभागी गराइनेछ।

रसुवागढी–केरुङ सिमापार ट्रान्समिसन लाइन – निर्माण सम्भाव्यता अध्ययन अगाडि बढाइनेछ।

यी सम्झौताहरूमा नेपालको तर्फबाट अर्थ सचिव घनश्याम उपाध्याय र चीनको तर्फबाट सिड्का अध्यक्षले हस्ताक्षर गरे।

कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपाल–चीन सम्बन्धको महत्व जोड्दै उच्चस्तरीय भ्रमणले आपसी सम्बन्धलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले रसुवागढी नाकालाई राजस्व र व्यापारका हिसाबले महत्वपूर्ण बताउँदै बाढीपीडित संरचनाको पुनर्निर्माण छिटो अघि बढाइने जानकारी पनि दिए।

सिड्का अध्यक्ष सियाओदोङ्गले रसुवा जिल्लामा बाढीबाट क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणमा चीनको सहयोग रहने र भन्सार प्रक्रिया छिटो पार्ने प्रतिबद्धता व्यक्त गरे। साथै, नेपाली सरकारको विपद्‌पछिको सक्रियता र उद्धार कार्यप्रति आभार प्रकट गरे।

अर्थ सचिव उपाध्यायले हस्ताक्षर भएका परियोजनाले नेपालका स्वास्थ्य, मानव संशाधन विकास तथा सिमापार विद्युत व्यापारमा उल्लेखनीय योगदान पुर्याउने उल्लेख गरे।