एलिनाको चेतावनीL : “अब म चुप लाग्दिनँ, न्यायका लागि अघि बढ्नेछु”
काठमाडौँ । गायिका एलिना चौहानले वैवाहिक सम्बन्ध टुंगिएको लामो समय बितिसक्दा पनि सामाजिक सञ्जाल र सतही टिप्पणीमार्फत आफूलाई दोषारोपण गर्ने प्रयास जारी रहेको भन्दै कडा प्रतिक्रिया दिएकी छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत आफ्नो भनाइ सार्वजनिक गर्दै एलिनाले भनिन्, “हामीबीचको कुरा आपसी समझदारीमै सकिएको थियो। तर समाजको दबाब, सामाजिक सञ्जालको दुरुपयोग र सतही दृष्टिकोणका कारण फेरि त्यो पुरानै विषय दोहोरिएर मेरो व्यक्तिगत जीवनमाथि गम्भीर अन्याय भयो।”
“विगतसँग न कुनै दुस्मनी थियो, न बदला लिने सोच”
एलिनाले स्पष्ट रूपमा आफूले कुनै दुस्मनी राखेकी थिइनन् भन्दै भनिन्, “म कानुनी प्रक्रियामा जान बाध्य भएँ, आफ्नो चरित्रको रक्षा गर्न बाध्य भएँ। मैले त्यो विगत खोल्नुपर्यो, जुन अब मेरो जीवनसँग सम्बन्धित छैन। त्यो सम्बन्धसँग मेरो न कुनै दुस्मनी थियो, न बदला लिने सोच।”
उनले यो लडाइँ व्यक्तिगत नभई सोच र संरचनासँगको भएको उल्लेख गर्दै लेखिन्, “यो लडाइँ मेरो व्यक्तिगत मान्छेसँग होइन, त्यो मानसिकतासँग हो जसले सत्य बोल्ने नारीलाई नै दोषी बनाउँछ। जसले पीडितलाई नै कठघरामा उभ्याउँछ। जब मैले आफ्ना भोगाइहरू सुनाएँ, फेरि प्रश्न उठाइयो—किन अहिले? किन फेरि ?”
एलिनाले थप भनिन्, “अब म चुप लाग्दिनँ। यो लडाइँ अब केवल मेरो होइन, हरेक नेपाली चेलीको आवाज हो। म हरेक कानुनी, सामाजिक र नैतिक माध्यमबाट न्यायका लागि अघि बढ्नेछु। म एक्ली भए पनि सत्य मेरो पक्षमा छ।”
एलिनाले सन् २०२४ जुन ९ मा स्क्रिनसर्ट गरिएको एउटा तस्बिर पनि पोस्ट गरेकी छन्, जसमा उनी शारीरिकरूपमा कमजोर देखिन्छिन् र अनुहारमा चोटजस्ता डामहरू प्रष्ट देखिन्छन्। उनले यो तस्बिरमार्फत आफूले भोगेको पीडाको संकेत दिएकी छन्।
