राप्रपाको चेतावनी : पार्टी नीतिविपरीत अभिव्यक्ति नदिन कार्यकर्तालाई निर्देशन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पार्टीको नीति, विचार र सिद्धान्त विपरीत सामाजिक सञ्जाल वा सञ्चार माध्यममार्फत अभिव्यक्ति दिन कार्यकर्तालाई कडा निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय अनुशासन समितिको बैठकपछि शुक्रबार सार्वजनिक गरिएको विज्ञप्तिमा यस्तो आग्रह गरिएको हो। बैठक समितिकी अध्यक्ष तथा पार्टी उपाध्यक्ष रोशन कार्कीको अध्यक्षतामा राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको थियो।

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “पार्टीको नीति, विचार, सिद्धान्त र वृहत्तर हितविपरीत हुने किसिमका कुनै पनि लिखित वा मौखिक अभिव्यक्ति नदिन तथा त्यससम्बन्धी कुनै क्रियाकलाप नगर्न र नगराउन हार्दिक अनुरोध गरिन्छ।”

यो निर्देशन राप्रपाभित्र बढ्दो आन्तरिक विवादसँगै आएको हो। केही दिनयता पार्टी नेतृत्वमाथि असन्तुष्टि जनाउँदै वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष मुकुन्दश्याम गिरी, महामन्त्रीद्वय धवल शमशेर राणा र कुन्ती शाहीले संयुक्त वक्तव्य सार्वजनिक गरेका थिए।

उक्त वक्तव्यमा अध्यक्ष राजेन्द्र लिङ्देनमाथि विधानविपरीत स्वेच्छाचारी ढंगमा निर्णय गरेको आरोप लगाइएको छ। उनीहरूले नवराज सुवेदीलाई अनुशासन समितिबाट निष्कासन गरिएको विषयमा आपत्ति जनाएका थिए।

यसै सन्दर्भमा राप्रपाले आजै उपाध्यक्ष मुकुन्दश्याम गिरीलाई पदबाट हटाउने निर्णय सार्वजनिक गरेको छ।

विवाद चुलिँदै गएपछि अध्यक्ष लिङ्देनले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै “अब कठोर बन्ने समय आएको” बताएका छन्। उनले लेखेका छन्, “साथीहरू, निष्ठाको रक्षाका लागि अब कठोर बन्ने समय आयो।”

यसअघि धवल शमशेरको सचिवालयमा अध्यक्ष लिङ्देनविरुद्ध छुट्टै भेला पनि भएको थियो। त्यस्तै, अनुशासन समितिबाट हटाइएका नवराज सुवेदीले आफूलाई पुनर्बहाली गराउन निर्वाचन आयोगमा उजुरीसमेत दिएका छन्।