नेपालको पहिचान जोगाउन आदिवासी जनजातिको भूमिका महत्वपूर्ण : सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको पहिचान र संस्कृति जोगाउने क्रममा आदिवासी जनजातिहरूको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै देउवाले नेपाल बहुलजातीय, बहुभाषिक, बहुधार्मिक र संस्कृतिपूर्ण देश भएकाले यसको मौलिकता जोगाउन सबै समुदायको सहभागिता आवश्यक रहेको धारणा राखे।

“नेपाल सबै जातजातिको साझा राष्ट्र हो,” देउवाले भने, “हाम्रो मौलिकता विविधतामा छ। यो पहिचान जोगाउन आदिवासी जनजातिहरूको भूमिका अतुलनीय छ।”

सभापति देउवाले नेपाली कांग्रेसमा आदिवासी जनजातिहरूको सहभागिता अझ व्यापक बनाउने आवश्यकता औंल्याउँदै पार्टी त्यसका लागि आवश्यक सबै सहयोग गर्न तयार रहेको बताए।

उनले कांग्रेस नेतृत्वलाई सबै आदिवासी जनजाति समुदायलाई पार्टीमा आवद्ध गराउनेतर्फ विशेष ध्यान दिन आग्रह पनि गरे।

“पहिचानसहितको समावेशी राष्ट्र निर्माण कांग्रेसको मूल दर्शन हो,” देउवाले थपे, “हामी सबै मिलेर यसलाई अझ सुन्दर बनाउनु पर्छ।”