भौतिकमन्त्री दाहालको एक वर्ष : लक्ष्यभन्दा बढी सडक कालोपत्रे, ६ वर्षयताकै उच्च विकास खर्च
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले एक वर्षे कार्यकालमा अपेक्षाभन्दा बढी उपलब्धि हासिल भएको दाबी गरेका छन्। बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री दाहालले सडक निर्माणदेखि कानुनी सुधार, सुरुङमार्ग, र राजधानीका फ्लाइओभर परियोजनासम्मको प्रगतिबारे विवरण सार्वजनिक गरे ।
गत आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले ९३० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य लिएको थियो। तर वर्षअन्त्यसम्म ९३२ किलोमिटर सडक कालोपत्रे सम्पन्न गर्दै लक्ष्यभन्दा दुई किलोमिटरले बढी कार्यसम्पादन गरेको छ।
पुल निर्माणतर्फ भने अपेक्षित सफलता हासिल हुन सकेन। मन्त्रालयले १५० वटा पुल निर्माण गर्ने लक्ष्य राखे पनि १०५ वटा पक्की पुल र १० वटा बेलिब्रिज मात्र सम्पन्न गर्न सकिएको हो।
मन्त्री दाहालले सबैभन्दा ठूलो उपलब्धिका रूपमा मन्त्रालयको पुँजीगत खर्चलाई औंल्याए। उनका अनुसार चालू आवमा मन्त्रालयले ७६.४१ प्रतिशत पुँजीगत खर्च गर्न सफल भयो, जुन विगत ६ वर्षयताकै उच्च हो। यो राष्ट्रिय औसत ६३.२ प्रतिशतभन्दा १३.२१ प्रतिशतले बढी हो।
गत आवमा हुम्लाको सिमकोट राष्ट्रिय राजमार्ग सञ्जालमा जोडिएसँगै देशका सबै ७७ वटै जिल्ला सदरमुकाम सडक पहुँचमा आएका छन्। असार २२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले खार्पुनाथ गाउँपालिका–५ स्थित चुवाखोला बेलिब्रिज उद्घाटन गर्दै यो उपलब्धि औपचारिक रूपमा घोषणा गरेका थिए।
गत वर्ष मन्त्रालयले ३० वटा कानुन निर्माणको लक्ष्य राखेको थियो। तर वर्षभरिमा १० वटा ऐन, नियमावली र नीतिको मस्यौदा प्रक्रिया मात्रै अगाडि बढ्न सक्यो। मन्त्री दाहालले कानुन निर्माण प्रक्रियामा विभिन्न निकायको पूर्वस्वीकृति, सरोकारवालासँगको छलफल र मन्त्रालयहरूको समन्वय आवश्यक पर्ने भएकाले ढिलाइ भएको स्पष्ट पारे।
गत वर्षको बाँकी बक्यौता मध्ये ८ अर्ब ६६ करोड रुपैयाँको भुक्तानी दिन सफल भएको मन्त्रालयले जनाएको छ।
यसबाहेक, ग्वार्को ओभरपासको निर्माण पूरा भएको, सिद्धबाबा सुरुङमार्गअन्तर्गत ११२६ मिटर मुख्य सुरुङ र ९०० मिटर कंक्रिट लाइनिङ सम्पन्न भएको पनि मन्त्रीको प्रतिवेदनमा उल्लेख छ। हेम्जा–नयाँपुल र दुम्कीबास–बर्दघाट सुरुङमार्गको विस्तृत सम्भाव्यता अध्ययन सम्पन्न भएको छ।
पृथ्वी राजमार्ग अन्तर्गत आँबुखैरेनीदेखि जामुनेसम्मको ४१ किलोमिटर सडक कालोपत्रे गरी सम्पन्न भएको छ। यो खण्डको सौन्दर्य र चिल्लो बनावटका कारण सामाजिक सञ्जालमा भाइरल बनेको छ। तर यसले सडक सुरक्षामा चुनौती थपेको भौतिक मन्त्रालयको भनाइ छ।
सडकमा गाडी रोकेर फोटो वा भिडियो खिच्दा दुर्घटनाको जोखिम बढ्ने भन्दै भौतिक सचिव केशवप्रसाद शर्माले सतर्कता अपनाउन आग्रह गरेका छन्। “सडकको बीच भागमा बाधा पुर्याउने गरी तस्बिर वा भिडिओ खिच्नु हुँदैन,” उनले भने, “किनार वा खुल्ला स्थानबाट दृश्य कैद गर्नु उपयुक्त हुन्छ।”
मन्त्री दाहालको एक वर्षे कार्यकालमा पूर्वाधार विकासमा केही महत्त्वपूर्ण उपलब्धिहरू देखिए पनि केही योजनाहरूमा लक्ष्य अनुसारको प्रगति हुन सकेको छैन। मन्त्रालयले खर्चको गति, कानुनी प्रक्रिया र सुरक्षा सरोकारलाई अझ मजबुत बनाउँदै अगाडि बढ्नुपर्ने देखिन्छ।
