ओलीको खुलासा : विद्यादेवी भण्डारीको सदस्यता नवीकरण छैन, उचालेर राजनीतिमा ल्याउन हुँदैन

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको एमाले सदस्यता नवीकरण नभएको खुलासा गरेका छन्। साथै, कसैले उचालेको भरमा उनी सक्रिय राजनीतिमा फर्कन नहुने धारणा व्यक्त गरेका छन् ।

शुक्रबार आयोजित पोलिटब्युरो बैठकमा बोल्दै ओलीले पार्टीभित्र र बाहिरबाट संगठित हमला भइरहेको आरोप लगाए। उनले भने, “पार्टीभित्रको अराजकता रोक्नुपर्छ, नत्र पार्टीले नै नियन्त्रण गर्छ।”

पूर्वराष्ट्रपति भण्डारीको राजनीतिमा पुन: सक्रिय हुने चर्चा सञ्चारमाध्यममार्फत थाहा पाएको बताउँदै ओलीले त्यसबारे औपचारिक निर्णय नभएको स्पष्ट पारे। “उहाँको पार्टी सदस्यता नवीकरण भएको छैन। यसबारे निर्णय कमिटीले विधिसम्मत छलफलपछि गर्ने हो,” उनले भने।

ओलीका अनुसार, पार्टीले नै दुईपटक भण्डारीलाई राष्ट्रपतिको जिम्मेवारी दिएको र त्यसपछि संवैधानिक मर्यादाअनुसार निष्क्रिय रहनुपर्ने सहमति भएको थियो। “उहाँप्रति विश्वास थियो, तर उचालिएको भरमा फर्कनु हुँदैन,” उनले भने।

पार्टीभित्र नीति, पद्धति र प्रक्रियाका विषयमा छलफल भइरहने भन्दै ओलीले आन्तरिक विषयमा बाहिर गएर अभिव्यक्ति दिनु अनुचित भएको उल्लेख गरे।

पत्रकार कर्ण थापाको एक टिप्पणीको सन्दर्भमा ओलीले भने, “कभर मात्र फरक पर्‍यो भनेर उहाँले बोले, तर यो बबण्डर किन?”