ओलीले संसद् भंग गर्न खोजेपछि सञ्चालन गर्न तयार भएँ, तर एकथरी ममाथि आक्रमणमा छन् : प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा प्रकरणका कारण अवरुद्ध भइरहेको प्रतिनिधिसभा बैठक सञ्चालनमा पार्टी किन सहमत भयो भन्नेबारे स्पष्ट पारेका छन् ।
शुक्रबार अखिल नेपाल ट्रेड युनियन महासंघको दोस्रो पूर्ण बैठकमा बोल्दै उनले संसद् सञ्चालनको निर्णयका पछाडिका कारणहरू स्पष्ट पारे।
‘सरकारको नेतृत्वले सदन चलोस् भन्ने चाहँदैन, अवरोध भइरहोस् भन्ने चाहना देखिन्छ,’ प्रचण्डले भने, ‘हाम्रा धेरै साथीहरूले यो कुरा बुझेनन्, बुझ्न नसक्दा मलाई दुःख लागेको छ। नबुझी ममाथि आलोचना भइरहेका छन्।’
उनका अनुसार सरकार नेतृत्वले संसद् नचलेपछि भंग गर्ने र अध्यादेशमार्फत निर्णय लिने योजना बनाएको संकेत देखिएकोले संसद् सञ्चालन गर्नुपरेको हो। ‘बजेटदेखि अन्य विधेयकसम्म अध्यादेशबाट लैजान खोजिएको बुझेर हामी तयार भयौं,’ उनले स्पष्ट पारे।
सत्ताभित्रको अन्तरद्वन्द्व र दूरीलाई नबुझी आफूमाथि घेराबन्दी गर्ने प्रयास भइरहेको उनले आरोप लगाए। ‘सत्तामा रहेकाबीच दूरी के हो भन्ने बुझ्न जरुरी छ। तर अहिले एकथरी मानिसहरूले नेतृत्वमाथि नै गलत प्रचार गरेर आक्रमण गरिरहेका छन्,’ प्रचण्डले भने।
उनले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद् विघटन गरेपछि आफूहरूले तीनपटक सडकमा उत्रिनुपरेको स्मरण गरे ।
‘कहिलेकाहीँ प्रतिपक्षमा हुँदा पनि सत्तापक्षको भूमिका खेल्नुपर्ने अवस्था आउँछ,’ प्रचण्डले भने, ‘संघीय निजामती सेवा, विद्यालय शिक्षा, नागरिकता विधेयक र शान्ति प्रक्रियाका बाँकी काम यही संसद्बाट सम्पन्न गर्नुपर्छ भन्ने जिम्मेवारीबाट हामी पछि हट्न सक्दैनौं ।’
