रिटायर्ड हुने बेला आएको छ, कांग्रेसलाई एक बनाउन चाहन्छु : सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अब आफू राजनीतिबाट रिटायर्ड हुने समय आएको बताएका छन्। तर रिटायर्ड हुनुअघि पार्टीलाई एकढिक्का बनाउने आफ्नो चाहना रहेको पनि उनले प्रस्ट पारेका छन् ।

चितवनमा प्रजातन्त्र सेनानी स्व. गौरीदेवी प्रधानको सातौं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै देउवाले कांग्रेसभित्रको गुटबन्दीप्रति चिन्ता व्यक्त गरे ।

‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ, हाम्रो पार्टीको रोग यही हो,’ देउवाले भने, ‘हामी एकजुट भयौं भने कांग्रेसले एक्लैले बहुमत ल्याउन सक्छ । म अब रिटायर्ड हुँदैछु, तर त्यसअघि कांग्रेसलाई एक बनाउने चाहना छ ।’

देउवाले पार्टीभित्र एकता भएमा आगामी निर्वाचनमा कुनै दलसँग गठबन्धनको आवश्यकता नपर्ने दाबी गरे । ‘अहिले माओवादीसँग मिल्यौं, अहिले एमालेसँग मिल्यौं, किनभने बहुमत थिएन,’ उनले भने, ‘तर हामी कांग्रेसभित्र सबै एक भयौं भने एक्लै पनि जित्न सक्छौं ।’

उनले पार्टीकै कारण प्रधानमन्त्री बन्ने अवसर पाएको उल्लेख गर्दै कांग्रेसलाई सुदृढ बनाउनेबाहेक कुनै व्यक्तिगत लक्ष्य नरहेको बताए।

देउवाले समानुपातिक र समावेशी प्रतिनिधित्वसहितको संविधानलाई राम्रो बताए। तर उनले एउटै पार्टीले बहुमत ल्याउन कठिन हुने चुनौती स्वीकारे।

स्व. गौरीदेवी प्रधान र उनका श्रीमान श्यामकृष्ण प्रधानले देखाएको बाटोमा हिँड्दै अधुरा सपना पूरा गर्नुपर्नेमा देउवाले जोड दिए। उनले प्रधान परिवारप्रति सम्मान व्यक्त गर्दै आफू उनीहरूका नजिकको व्यक्ति भएको उल्लेख गरे।

कार्यक्रममा कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठले कांग्रेसलाई समृद्ध नेपालको मार्गनिर्देशक शक्ति बताउँदै जनचाहना अनुसार अघि बढ्नुपर्नेमा जोड दिए।

नेता विमलेन्द्र निधिले परिस्थिति अनुसार गठबन्धन आवश्यक हुन सक्ने धारणा राखे भने डा. शशांक कोइरालाले कांग्रेस बलियो बनाउँदा संविधानको रक्षा हुने बताए।

कार्यक्रममा केन्द्रीय सदस्य उमा रेग्मी र टेकप्रसाद गुरुङले पनि आफ्ना धारणा राखेका थिए।