कार्यक्रम अधिकृतमाथी सुतेको समयमा छुरा प्रहार
रामेछाप– जिल्ला समन्वय समिति रामेछापका कार्यक्रम अधिकृत नारायण सुबेदीमाथि बुधबार राति छुरा प्रहार भएको छ।
मन्थली नगरपालिका–१ मच्छेडाडीस्थित आफ्नै घरको कोठामा बसिरहेका सुबेदीलाई मुखमा मास्क बाधेर आएका व्यक्तिले एक्कासी छुरा प्रहार गर्दा पेटमा छुरा लागेर गम्भिर घाइते भएका हुन्।
बुधबार राति करिब ९ बजे तिर घरको माथिल्लो तलाको कोठामा नेट चलाएर बसिरहेका सुवेदीलाई कोठामा पसेको व्यक्तिले एक्कासी छुरा प्रहार गरेको थियो। अपरिचित व्यक्तिले झुक्याएर प्रहार गरेको छुरा जवर्जस्ती खोसे पछि सो व्यक्ति हतार हतार निस्कीएर बार्दलीबाट हाम फालेर भागेको बताइएको छ।
बुधबार राति नै उनलाई उद्धार गरी सदरमुकाम मन्थलीस्थित तामाकोशी सहकारी अस्पतालमा प्राथमिक उपचार गरी थप उपचारका लागि काभ्रेको धुलिखेल अस्पतालमा पठाइएको थियो। धुलिखेल अस्पतालमा उनको शल्यक्रिया भएको छ। अस्पतालले सुवेदीको आन्द्रा र कलेजो काटिएको जनाएको छ। उनी होशमा नआएता पनि अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ। उनलाई आइसीयुमा राखिएको आफन्तले जानकारी दिएका छन्।
