सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा जसपा, संसदीय दललाई निर्णयको जिम्मा
काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने दिशामा कदम चालेको छ ।
सोमबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारप्रति असन्तुष्टि जनाउँदै समर्थनबारे पुनर्विचार गर्ने निर्णय गरेको अध्यक्ष उपेन्द्र यादवले जानकारी दिएका छन् ।
उनका अनुसार, बैठकले सरकार भ्रष्टाचार नियन्त्रण गर्न असफल, सुशासनको प्रत्याभूति दिलाउन चुकेको, संविधान संशोधनको प्रक्रिया अगाडि नबढाएको र आर्थिक सुधारमा पनि निष्क्रिय रहेको निष्कर्ष निकालेको छ ।
“केन्द्रीय कार्यकारिणी समितिले समर्थनको विषयमा पुनर्विचार गर्ने निर्णय गरेको हो,” अध्यक्ष यादवले भने, “तर अन्तिम निर्णय भने पार्टीको संसदीय दलको बैठकले गर्नेछ ।”
जसपाको यस्तो कदमले सत्तारूढ गठबन्धनमा नयाँ राजनीतिक समीकरण सिर्जना हुन सक्ने आँकलन गरिँदैछ ।

