शेखर कोइरालाले भने : “सबै दलका सांसदले ‘कुलिङ पिरियड’ राख्नुपर्छ भनेका छन्, तर प्रधानमन्त्री किन रोकिरहनु भएको हो ?

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी सरकारमा भए पनि सत्ताको निर्णय प्रक्रियाबाट टाढा रहेको बताएका छन् । आइतबार तनहुँमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले सरकार र सत्ता फरक कुरा भएको स्पष्ट पारे ।

“हामी सरकारमा छौं, गण्डकीमा नेतृत्व पनि हाम्रो छ, तर सत्तामा छैनौं,” उनले भने, “सत्तामा बहुमत वामपन्थीहरू छन्, प्रजातन्त्रवादीहरू देखिन्नन् ।”

कोइरालाले निजामती सेवा विधेयक संसद्को राज्यव्यवस्था तथा सुशासन समितिबाट पास भइसकेको भए पनि प्रधानमन्त्रीको निर्देशनमा सभामुखले संसद्को कार्यसूचीमा नराखेको आरोप लगाए ।

“हामी सत्तामा भएको भए विधेयक ल्याउँथ्यौं,” उनले भने, “संसदमा सबै दलका सांसदहरूले ‘कुलिङ पिरियड’ राख्नुपर्छ भनेका छन्, तर प्रधानमन्त्री किन रोकिरहनु भएको हो ? कसको लागि ?”

कोइरालाले सचिव पदबाट अवकाश पाएलगत्तै संवैधानिक निकायहरूमा नियुक्ति हुँदा हित बाझिने भएकाले दुई वर्षको कुलिङ पिरियड अनिवार्य गर्न खोजिएको बताए । “सचिवबाट रिटायर्ड भएसँगै कसैलाई अख्तियारमा, कसैलाई निर्वाचन आयोग वा महालेखामा लगियो भने तिनीहरूले निष्पक्ष काम गर्न सक्दैनन्,” उनले तर्क गरे ।

उनका अनुसार विश्वका धेरै देशमा पनि यस्तो कुलिङ पिरियडको व्यवस्था छ, र कतिपय अवस्थामा निजी क्षेत्रमा जान पनि सरकारी अनुमति लिनुपर्ने नियम हुन्छ ।