ओली, देउवा र प्रचण्डसहित शीर्ष नेताहरूको बैठक : टीआरसीबारे केन्द्रित छलफल
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित शीर्ष नेताहरूबीच संक्रमणकालीन न्याय (टीआरसी) सम्बन्धी विषयमा छलफल सम्पन्न भएको छ।
शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकमा टीआरसीसम्बन्धी अहिलेसम्मको प्रगति, बजेट विनियोजन र आगामी योजनाहरूबारे छलफल गरिएको प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले जानकारी दिए।
खरेलले बैठकपछि भने, “टीआरसीबाहेक अन्य कुनै विषयमा छलफल भएको छैन। त्यसमा भ्रममा नपर्न अनुरोध गर्दछु।” उनका अनुसार आगामी वर्षको बजेटमा करिब एक अर्ब रुपैयाँ संक्रमणकालीन कोषमा राख्ने प्रस्ताव गरिएको छ, जुन रकम पीडितको उपचार, न्याय प्राप्तिका संयन्त्र निर्माण तथा अन्य आवश्यक प्रक्रियामा खर्च गरिनेछ।
तीन दलका नेताहरू टीआरसी प्रक्रियालाई सकारात्मक ढंगले अगाडि बढाउनेमा सहमत भएका छन्। आयोग गठन भइसकेको अवस्थामा अब बाँकी कार्य आयोगकै जिम्मेवारीमा पर्ने स्पष्ट गरिएको छ।
बैठकमा प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा, माओवादी अध्यक्ष प्रचण्डसहित कांग्रेसबाट गृहमन्त्री रमेश लेखक र माओवादी केन्द्रबाट उपमहासचिव वर्षमान पुनको उपस्थिति रहेको थियो।
