राजु पाण्डेलाई नगर प्रहरी प्रमुखकै जिम्मेवारीमा फर्काउन उच्च अदालतको आदेश
काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजु पाण्डेलाई पुनः पूर्वपदमा फर्काएर काम गर्न दिन उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीशद्वय ऋषिराज भण्डारी र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले पाण्डेले दायर गरेको रिट निवेदनको अन्तिम फैसला नहुँदासम्म उनलाई नगर प्रहरी प्रमुखकै रूपमा काम गर्न दिन अन्तरिम आदेश दिएको हो।
अदालतले दिएको आदेशमा उल्लेख छ, ‘रिट निवेदनको अन्तिम टुंगो नलागेसम्मका लागि निवेदकलाई पदबाट निलम्बन गर्नु पर्ने अवस्था देखिन्न। त्यसैले जेठ २० गते महानगरपालिकाबाट जारी गरिएको निलम्बनको पत्र कार्यान्वयन नगरी, निवेदकलाई यथास्थितिमा पदमा रही काम गर्न दिन आदेश दिइन्छ।’
यद्यपि, अदालतले काठमाडौं महानगरपालिकाले गरेको निलम्बनको निर्णय खारेज भने गरेको छैन। फैसला नआउञ्जेलसम्मका लागि मात्र निर्णय कार्यान्वयन नगर्न भनेको हो।
आदेशमा पाण्डे वरिष्ठ नगर प्रहरी उपरीक्षकको रूपमा महानगरको सुरक्षा व्यवस्थाको जिम्मेवारीमा रहेको र नगर प्रहरी परिचालन, निगरानी, नियन्त्रण तथा निर्देशन दिने अधिकार प्रमुख प्रशासकीय अधिकृतसँग भए पनि पाण्डेले सो निर्देशन पालना गर्न इन्कार गरेको प्रमाण नदेखिएको उल्लेख छ।
यसअघिका घटनाक्रमअनुसार, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पाण्डेले बुझाएको स्पष्टीकरण सन्तोषजनक नभएको भन्दै जेठ २० गते उनलाई ६ महिनाका लागि निलम्बन गरेका थिए। उक्त निर्णयविरुद्ध पाण्डेले उच्च अदालत पाटनमा रिट दायर गरेका थिए।
