सूचना टाँसेर प्रतिनिधि सभाको बैठक स्थगित
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत विपक्षी दलहरूको निरन्तर अवरोधका कारण प्रतिनिधि सभाको बैठक स्थगित गरिएको छ। बिहीबार बिहान ११ बजे बस्नेगरी तय गरिएको बैठक सूचना टाँसेर स्थगित गरिएको हो।
रास्वपाले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र उच्चस्तरीय छानबिन समितिको माग गर्दै केही सातादेखि सदन अवरुद्ध गर्दै आएको छ। राप्रपाले पनि यसमा रास्वपालाई समर्थन गर्दै आएको छ।
यद्यपि सत्तारुढ नेकपा (माओवादी केन्द्र) र रास्वपाबीच दुई बुँदे सहमति भए पनि रास्वपा र राप्रपाले उक्त सहमति अस्वीकार गरेका छन्।
सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरेले आज गृहमन्त्रीसहित प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल गरे पनि कुनै सहमति जुट्न सकेन।
सभामुखले शुक्रबारभित्र सहमति निर्माणका लागि राजनीतिक दलहरूलाई आवश्यक संवाद र समन्वय गर्न आग्रह गरेका छन्।
