नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बुधबार बस्ने
काठमाडौं — सत्तारुढ नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आह्वान गरेको छ। बैठक बुधबार बिहान ८ः३० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, यसअघि असार १५ गतेका लागि तय गरिएको बैठकलाई सारेर भोलि बोलाइएकोले यसलाई ‘आकस्मिक’ भनिएको हो।
बैठकमा कांग्रेसका पूर्वसांसद ढुण्डिराज शास्त्री पौडेलको निधनप्रति शोक प्रस्ताव पारित गर्नेलगायत विषयमा छलफल हुने बताइएको छ।
“यस्ता घटनापछि बैठक बोलाउने परम्परा कांग्रेसमा पहिले पनि थियो,” मुख्यसचिव पौडेलले बताए, “१५ गतेको बैठकभन्दा अगाडि बीचमा बसेको हुनाले यसपटक आकस्मिक भनिएको हो।”
बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरूलाई उपस्थितिका लागि अनुरोध गरिएको छ।
