सहकारी ठगी प्रकरण : पर्सामा रवि लामिछानेसहित २९ जनाविरुद्ध मुद्दा दर्ता
काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगीसम्बन्धी मुद्दा दर्ता गरिएको छ ।
वीरगन्जस्थित सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको ठूलो रकम अपचलनको आरोपमा प्रहरीले करिब एक महिनाअघि अनुसन्धान सकाएर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको थियो। सोही आधारमा सरकारी वकिलले अभियोगपत्र तयार पारी अदालतमा दर्ता गरेको हो।
मुद्दामा रवि लामिछानेमाथि ५ करोड ७४ लाख ३० हजार ३३३ रुपैयाँ बराबरको बिगो दाबी गरिएको छ। कूल रुपमा, सहकारीको १ अर्ब ३२ करोड ४६ लाख रुपैयाँभन्दा बढी अपचलन भएको दाबी अभियोगपत्रमा उल्लेख छ।
कानुनविपरीत ऋण, कार्यक्षेत्रबाहिर लगानी
सहकारीले कानुनविपरीत वीरगन्ज क्षेत्र बाहिरका व्यक्तिहरूलाई ऋण प्रवाह गरेको, र संस्थाका नातेदार कम्पनीहरूमा ठूलो रकम लगानी गरेर रकम हिनामिना गरेको आरोप छ। करिब ८ सय सदस्यबाट संकलित १ अर्ब ३५ करोड रुपैयाँमध्ये ९२ करोड रुपैयाँभन्दा बढी रकम कार्यक्षेत्रबाहिर लगानी गरिएको जनाइएको छ।
अभियोगपत्रअनुसार, सहकारीले निम्न कम्पनीहरूमा कर्जा प्रवाह गरेको छ:
नेचर हब इन्टरनेसनल – रु. १ करोड ३७ लाख
नेचर नेष्ट प्रालि – रु. १ करोड ८५ लाख
स्प्रिङ वुड रियल स्टेट – रु. १ करोड १ लाख
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछाने अहिले भैरहवा कारागारमा छन्। सानो पाइला सहकारीका संरक्षक जीबी राईलगायत अन्य प्रतिवादीहरूमाथि पनि ठगी, अपचलन र सहकारी ऐन उल्लंघन गरेको अभियोग लगाइएको छ।
पीडित बचतकर्ताहरूले लामो समयदेखि न्यायको माग गर्दै आइरहेका थिए। अब मुद्दा अदालतमा प्रवेश गरेसँगै सुनुवाइ प्रक्रिया औपचारिक रूपमा प्रारम्भ हुने भएको छ।
