भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नताको ‘यथेष्ट प्रमाण’ रहेको रास्वपाको दाबी

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भिजिट भिसा प्रकरणमा गृह मन्त्रालय, स्वयं गृहमन्त्री र कर्मचारीहरूलगायत सबैको ‘यथेष्ट प्रमाणसहित’ संलग्नता रहेको दाबी गरेको छ । रास्वपाका प्रवक्ता मनिष झाले प्रतिनिधिसभाको बैठकमा बोल्दै यस्तो आरोप लगाएका हुन् ।

झाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत कात्तिकदेखि वैशाखसम्म अध्यागमनमा अनियमितता भइरहेको भन्दै गृह मन्त्रालयलाई ९ पटक पत्र काटेको खुलासा गरे । उनले प्रश्न गरे, “९ पटक पत्र काट्दा त्यहाँ किन ध्यान दिइएन ? आज किन कागजको खोस्टामा लेखिँदैछ ?”

प्रवक्ता झाले अख्तियारले छानबिन गर्ने बेला भएपछि गृह मन्त्रालयले आफ्ना कर्मचारीहरूलाई रातारात किन अन्यत्र सारेको भन्दै गृहमन्त्रीको संलग्नता नभएको भए त्यसो किन गरियो भन्ने प्रश्न उठाए । उनले गृहमन्त्रीलाई आफ्नै मन्त्रालयबारे जानकारी नभए कसरी नेतृत्व गरिरहेको भन्दै उनको भूमिकामाथि प्रश्नचिह्न खडा गरे ।

झाले यो मुद्दा उठाउँदा रास्वपाका सभापति रवि लामिछानेको स्थान्तरण (ठाउँ सारी) समेत रोकिएको दाबी गरेका छन् ।