टेकु अस्पतालमा एक सातामा ५ जनामा कोरोना संक्रमण, एक जना भर्ना
काठमाडौं । पछिल्लो एक सातामा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु अस्पताल) मा गरिएको परीक्षणमा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये एक जनालाई भने क्याबिनमा भर्ना गरी उपचार भइरहेको छ।
अस्पतालका निर्देशक डा. युवानिधि बसौलाका अनुसार, ज्वरो लगायतका लक्षणसहित आएका बिरामीहरूको परीक्षण गर्दा पाँच जनामा संक्रमण देखिएको हो। उनले भने, “तर उनीहरूमध्ये अधिकांशलाई घरमै छुट्टै आइसोलेसनमा बस्न सुझावसहित पठाइएको छ।”
एक जना संक्रमितलाई भने काठमाडौँकै एक निजी अस्पतालबाट चार दिनअघि रेफर गरिएको र उनलाई टेकु अस्पतालको क्याबिनमा राखेर उपचार भइरहेको डा. बसौलाले बताए। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको जानकारी दिइएको छ।
देशभर १६ जना सक्रिय संक्रमित
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार, हाल देशभर १६ जना सक्रिय संक्रमित रहेका छन्। ईडीसीडीका निर्देशक डा. चन्द्रभाल झाले भारतमा कोरोना संक्रमितको संख्या बढेसँगै नेपालमा पनि केही प्रभाव परेको बताए। “दुई-चार दिनअगाडि भारतबाट आउने मानिसको सिमाना क्षेत्रमा चेकजाँच गर्दा केहीमा संक्रमण पुष्टि भयो,” डा. झाले भने, “तर आजभोलि संक्रमणको केस रिपोर्ट भएको छैन।”
कोरोना महामारीकै रूपमा नभए पनि सतर्कता आवश्यक
टेकु अस्पतालले कोरोना संक्रमणबाट बच्नका लागि आकस्मिक कक्षबाट निरन्तर खोप सेवा पनि दिँदै आएको छ।
जनस्वास्थ्यविद्हरूका अनुसार, कोरोना अब महामारीकै रूपमा नभए पनि समाजमा सामान्य रूपमा घुमिरहनेछ। विगत पाँच वर्षमा नेपालमा कोरोनाका कारण १२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।
धुलिखेल अस्पतालको मोलिक्युलर एन्ड जिनोमिक सिक्वेन्सिङ रिसर्च ल्याबका प्रमुख डा. राजीव श्रेष्ठले कोरोना भाइरस रोगका लागि स्थापित भइसकेकाले बेला-बेलामा फाट्टफुट्ट देखिने सम्भावना कायमै रहने बताए। “कोरोना रुघाखोकी, हैजा वा दादुरा जस्तै गरी बसिरहन्छ। यसबारे सतर्कता अपनाउनुपर्छ,” डा. श्रेष्ठ भन्छन्, “नयाँ-नयाँ भेरियन्ट आउँदा संक्रमण र त्यसबाट पर्ने गम्भीर असरबाट जोगिन खोप लगाउनुपर्छ।”
