साम्राज्ञी र मुकुनले ‘जदौ’मा जोडी बाँध्ने, निर्देशकको खोजी जारी
काठमाडौँ । निर्देशकको टुङ्गो नलाग्दै नयाँ नेपाली फिल्म ‘जदौ’ मा शीर्ष कलाकारहरू साम्राज्ञी राज्य लक्ष्मी शाह र मुकुन भुसाल अनुबन्धित भएका छन्। यो फिल्ममा उनीहरूले जोडी बाँध्ने खबर बाहिरिएको छ।
फिल्मको निर्माण प्रक्रिया तीव्र गतिमा अघि बढिरहे पनि हालसम्म निर्देशकको नाम भने सार्वजनिक गरिएको छैन। काजी लिम्बुको निर्माण परिकल्पना र लेखन रहेको ‘जदौ’ को निर्देशन कसले गर्ने भन्ने विषय गोप्य राखिएको छ। निर्देशक तय नहुँदै प्रमुख कलाकार अनुबन्धित हुनु नेपाली फिल्म उद्योगमा विरलै सुनिने खबर हो।
आगामी भदौ महिनाबाट छायांकन सुरु गरिने यो फिल्ममा केही दिनअघि साम्राज्ञी शाह मुख्य अभिनेत्रीका रूपमा जोडिएकी थिइन्। अब भुसालसँगै सन्ध्या श्रेष्ठलाई पनि सहायक भूमिकामा अनुबन्धित गरिएको छ। अन्य कलाकार र प्राविधिकहरूको बारेमा भने टुङ्गो लाग्न बाँकी छ।
सिल्भर स्क्रिन र समिश्रण मूभिज को संयुक्त लगानीमा निर्माण हुने यस फिल्ममा रामराजा सुवेदी, ओम चेम्जोङ्ग र शान्ती तामाङ सहनिर्माताका रूपमा रहेका छन्। श्याम तामाङले खिच्ने फिल्ममा बाबुल गिरीको संगीत रहनेछ भने बुद्धी माझीले निर्माण व्यवस्थापन सम्हाल्नेछन्। फिल्म यसै वर्ष प्रदर्शन गरिने जनाइएको छ।
