मुलुकका सबै समस्या समाधान गर्न कांग्रेस सक्षम छ: सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका सबै समस्या समाधान गर्ने क्षमता कांग्रेससँग रहेको दाबी गरेका छन् ।
बुधबार कांग्रेसको दलित समुदाय समन्वय तथा सशक्तिकरण विभागद्वारा सानेपास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै देउवाले कांग्रेसले सधैं समस्याको पहिचान गरी समाधानको पहल गर्दै आएको बताए।
उनले जातीय विभेद गर्ने कुनै पनि व्यक्ति कांग्रेसको सदस्य बन्न नसक्ने उल्लेख गर्दै पार्टी विधानमै त्यसको स्पष्ट प्रावधान रहेको जानकारी दिए। “जातीय भेदभाव गर्ने व्यक्तिलाई कांग्रेसको सदस्य नरहने व्यवस्था विधानमै छ, यसको कडाइका साथ कार्यान्वयन गर्न सबै तहका समितिहरूलाई आग्रह गर्दछु,” देउवाले भने।
सभापति देउवाले दलीय समावेशिताको महत्वमा जोड दिँदै भने, “दलीय संरचना स्वयं समावेशी नभएसम्म राज्यका अन्य संरचना समावेशी हुन सक्दैनन् भन्ने बुझाइका आधारमा मैले नेतृत्व गर्दै पार्टीमा कर्णाली, दलित, महिला, जनजाति र मधेशी समुदायको अनिवार्य प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गरेका हौँ।”
