राजावादी भनिएकाहरुको चुनौती स्वीकार छ, हामी जवाफ दिन्छौंः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादीहरु भनिएकाहरुको सबै प्रकारको चुनौती स्वीकार्य रहेको बताएका छन् । आज (बिहीबार) १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजावादीहरुको चुनौती स्वीकार गर्दै उचित समयमा जवाफ दिइने बताए । राजावादी भनिएकाहरु कति असहिष्णु छन् भन्ने कुरा गत चैत १५ गते तीनकुनेमा भएको हिंसात्मक घटनाले पुष्टि गर्ने उनले बताए ।
‘यिनीहरुमा यति असहिष्णुता छ, शान्ति कायम गर्न उभिएको प्रहरी, त्यसमाथि गाडी लिएर किच्न जान्छन् । केही नहुदा त यस्तो छ, कथनकदाचित यिनको शासन हुने हो भने के हुँदो हो ? विचार गर्नुस् त ? सोझैं पेल्ने रैनछन् ? कुराहरुमा हामी सचेत हुनुपर्छ । हाम्रो संस्कृति बिर्गान खोजेका छन्, हाम्रो सामाजिक मूल्य, मान्यतामाथि चुनौती दिएका छन् । यस चुनौती हामीलाई स्वीकार छ । हामी जवाफ दिन्छौं । यसमा मजदुर वर्गीय सजकता रहेको छ र फेरि पनि रहने छ । यसरी हामी सुनौलो भविष्यतर्फ क्रियाशील छौं,’– अध्यक्ष ओलीले भने ।
ओलीले जनताको आन्दोलनबाट फालिसकिएको निरङ्कुश राजतन्त्र कहिल्यै नफर्किने दाबी गरे । जनताले रगत र पसिना बगाएर ल्याएको लोकतान्त्रिक प्रणालीको रक्षा गर्नुपर्ने बताए । उनले उद्देश्यमा केन्द्रीत भएर गतिशील हुनसमेत मजदुरहरुलाई आग्रह गरे । कहिले–कहिले वर्गको नाममा फरक विचारको झण्डा बोक्नका लागि उस्तैउस्तै खालको संगठन बनाउनेहरुबाट सजग रहन पनि उनले आग्रह गरे ।