कक्षा १२ को परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय, शिक्षक महासंघले परीक्षा बहिस्कार गर्ने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले वैशाख ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ । आज विहान बसेको राष्ट्रिय परीक्षा बोर्डको वैठकले निजामती कर्मचारी परिचालन गरेर भए पनि परीक्षा गर्ने निर्णय गरेको हो ।

शिक्षक तथा कर्मचारीहरुको जारी आन्दोलनका कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा शंका गरिरहेका बेला राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षा नरोकिने र निर्धारित मितिमै हुने जानकारी दिएका हुन ।

परीक्षा नियन्त्रक शर्माले परीक्षा सार्दा गलत सन्देश जाने र विद्यार्थीको समय पनि खेर जाने भएकाले परीक्षा तोकिएकै मितिमा सञ्चालन गरिने जानकारी दिए ।

बोर्ड बैठकले सम्पूर्ण जिल्लाका परीक्षा समन्वय समिति मार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।

परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले द्विविधा नराखी निर्भीक भएर परीक्षाको तयारी गर्न विद्यार्थीहरुलाई अनुरोध गरेका छन् ।

परीक्षाको व्यवस्थापन र सञ्चालनमा शिक्षक सहभागी नभए अरु संयन्त्र प्रयोग गरेर भए पनि परीक्षा सञ्चालय गर्ने निर्णय बोर्डले गरेको छ ।

‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत स्थानीय निकालाई भन्ने । जिल्लामा परीक्षा समन्वय समिति छ । शिक्षा इकाइ छ । प्रदेशमा बोर्डको कार्यालय छ । सबै मिलेर केन्द्राध्यक्ष खटाएर परीक्षा हुन्छ,’ परीक्षा नियन्त्रक शर्माले बताएका छन् ।

शर्माले भने ‘शिक्षकहरूलाई फर्किन आह्वान गरेका छौं, जानुहुन्छ होला । जानु भएन भने विकल्प पनि सोचेका छौं ।’
पालिकाका कर्मचारी, क्याम्पसका शिक्षक, निजीका शिक्षकलगायत सहज हुनेगरी आवश्यकता हेरेर प्रमुख जिल्ला अधिकारीले संयन्त्र प्रयोग गर्न सक्ने शर्माले बताएका छन् ।

शिक्षक केन्द्राध्यक्ष हुँदा पनि सुरक्षाका लागि प्रहरी परिचालन गरिने गरेको र अहिले पनि बाहिरि सुरक्षाका लागि प्रहरी परिचालनन हुने बोर्डले जनाएको छ ।

यसपटक १२ कक्षाको परीक्षा दिने विद्यार्थीको संख्या ५ लाख ११ हजार छन भने परीक्षा केन्द्र १ हजार ५९० तोकिएको छ ।

यता शिक्षक महासंघले भने परीक्षा बहिस्कार गर्ने अडान कायम राखेको छ । शिक्षा ऐन जारी गर्न माग गर्दै २० चैतदेखि शिक्षक तथा कर्मचारीहरूले काठमाडौंमा आन्दोलन गरिरहेका छन् । उनीहरुले परीक्षा र कपि काट्ने, नयाँ भर्ना गर्ने लगायतका काममा सहभागी नहुने । शैक्षिक हड्ताल कायमै राख्ने बताएका छन् ।