प्रचण्डद्वारा बाढीपहिरो प्रभावितका लागि वाईसीएलले बनाएका २१ अस्थायी आवास हस्तान्तरण
नुवाकोट । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नुवाकोटको बेलकोटगढी र विदुर नगरपालिकाका बाढीपहिरो प्रभावित परिवारका लागि वाईसीएल नेपालले निर्माण गरेका २१ वटा अस्थायी आवास हस्तान्तरण गरेका छन्।
मंगलबार बिहान बेलकोटगढी नगरपालिका–७, महादेवथानमा आयोजित कार्यक्रममा प्रचण्डले प्रभावित परिवारलाई आवासको चाबी हस्तान्तरण गरेका हुन्। वाईसीएलको पहलमा निर्माण गरिएका आवासमा दुई कोठा र शौचालयको व्यवस्था छ।
कार्यक्रममा प्रचण्डले रसुवाको भोटेकोशीमा आएको बाढी र त्यसले पुर्याएको क्षति प्राकृतिक विपत्तिको परिणाम मात्र नभएको बताए। विकसित भनिने मुलुकहरूले अपनाएको विकासको गलत मोडलका कारण नेपालले जलवायु परिवर्तनको असर भोग्नुपरेको उनको भनाइ थियो।
कार्बन उत्सर्जनमा नेपालको योगदान नगण्य भए पनि त्यसबाट उत्पन्न जलवायु परिवर्तनको असर नेपालले भोगिरहेको उनले उल्लेख गरे। आफू प्रधानमन्त्री हुँदा संयुक्त राष्ट्रसंघको महासभा तथा महासचिवसँगको भेटमा जलवायु न्यायको विषय उठाएको पनि उनले स्मरण गरे।
प्रचण्डले भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुगेर प्रभावित परिवारका लागि आवास निर्माण गर्ने घोषणा गरिएको स्मरण गर्दै निर्माणमा खटिएको वाईसीएललाई धन्यवाद दिए।
आवास पाएपछि प्रभावित परिवारले खुसी व्यक्त गरेका छन्। उनीहरूले विपत्तिका बेला वाईसीएलले सहयोग गरेर सुरक्षित बसोबासको व्यवस्था गरिदिएको बताएका छन्।
बेलकोटगढी नगरपालिका–७ का ६३ वर्षीय श्रीकृष्ण नेपालले बाढीले आफ्नो घर आधा पुरेको बताए।
‘मेरो घर बाढीले आधा पुर्यो। वाईसीएलले घर बनाइदियो। मेरा लागि यो सिंहदरबार हो,’ उनले भने।
सोही ठाउँका प्रदीप राईले वाईसीएलले बनाइदिएको घरमा यस वर्षको दसैं मनाउन पाउने बताए। आवास निर्माणले आफूहरूलाई नयाँ जीवन सुरु गर्न प्रेरणा दिएको उनको भनाइ छ।
स्थानीय शम्भु सिग्देलले पनि वाईसीएलले आफ्नो गाउँलाई ठूलो सहयोग गरेको बताए।
वाईसीएल नेपालका अध्यक्ष पुष्प वलीले बाढीपहिरो प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने उद्देश्यले निर्माण अभियान सञ्चालन गरिएको बताए।
वाईसीएलका प्रचार विभाग प्रमुख धिरज उपरकोटीका अनुसार प्रत्येक आवास निर्माणमा अनुमानित चार लाख रुपैयाँ खर्च भएको छ। उपाध्यक्ष हरि ढकालले दाताहरूबाट प्राप्त निर्माण सामग्री र प्राविधिक सहयोगमा आवास निर्माण गरिएको जानकारी दिए।
आवास निर्माण, सरसफाइ, उद्धार, राहत तथा पुनर्निर्माणका काममा वाईसीएलका ६ सयभन्दा बढी नेता तथा कार्यकर्ता परिचालित भएका थिए।
वाईसीएलले आवास निर्माणसँगै बाढीपहिरो प्रभावित क्षेत्रमा राहत वितरण, उद्धार, सरसफाइ र पुनःस्थापनाका कामसमेत सञ्चालन गरेको जनाएको छ।
अध्यक्ष पुष्प वलीद्वारा जारी विज्ञप्तिअनुसार प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, औषधि, लत्ताकपडा, सोलार लाइट र मोबाइललगायत अत्यावश्यक सामग्री वितरण गरिएको छ। प्रभावित नागरिकको उपचारमा सहयोग पुर्याउन ११ जनाको सहभागितामा रक्तदान कार्यक्रमसमेत आयोजना गरिएको थियो।
काठमाडौंमा रहेका प्रभावित परिवारलाई खाद्यान्न, त्रिपाल, लत्ताकपडा, भाँडाकुँडा तथा औषधोपचारमा सहयोग गरिएको वाईसीएलले जनाएको छ। त्यस्तै, करिब १०० परिवारलाई खाना पकाउने ग्यास र खाद्यान्न उपलब्ध गराउने प्रयास गरिएको विज्ञप्तिमा उल्लेख छ।
वाईसीएलका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका कामका लागि देशभर १० हजारभन्दा बढी स्वयंसेवक परिचालन गरिएको छ। प्रभावित परिवारलाई सुरक्षित आवास उपलब्ध गराउने र उनीहरूलाई सामान्य जनजीवनमा फर्काउन सहयोग गर्ने अभियानलाई निरन्तरता दिने संगठनले जनाएको छ।
